Aamsanchar

३१ गतेबाट देशभरका पेट्रोल पम्प बन्द हुँदै

Author Image
सोमवार, साउन २३, २०७४

बिर्तामोड।

साउन ३१ गतेबाट देशभर सबै पेट्रोलपम्पहरु बन्द हुने भएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले नेपाल आयल निगम समक्ष राखेका १२ सूत्रीय माग पूरा नभएको भन्दै आन्दोलन अन्तर्गत पेट्रोल पम्पहरु बन्द गर्ने घोषणा गरिएको जनाइएको छ ।
यसैबीच मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष तथा संघर्ष समितिका संयोजक मार्स प्रसाईंले झापासहित मेची अञ्चलमा पनि साउन ३१बाट अनिश्चितकालका लागि पेट्रोल पम्पहरु बन्द हुने बताए । प्रसाईंका अुनसार साउन २६ गतेबाट पेट्रोल खरिद नगर्ने, २९ गतेबाट डिजल पेट्रोल÷डिजल दुबैको खरिद बन्द गर्ने तथा ३१ गतेदेखि पेट्रोलियम पदार्थको मौज्ज्दात सकी व्यवसाय बन्द गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय समितिको निर्देशन बमोजिम मेची अञ्चलमा पनि आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको प्रसाईंले बताए । यसैबीच प्रसाईंको नेतृत्वमा पेट्रोलियम व्यवसायीहरुको टोलीले झापाका प्रमुख जिल्ला अधिकारीलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ । एशोसिएशनले चारआलीस्थित आयल निगम र मेची यातायात स्वतन्त्र मजदुर संगठन टैंकर इकाईलाई समेत उक्त ज्ञापनको बोधार्थ दिएको छ ।
सञ्चारकर्मीसँगको कुराकानीमा एशोसिएशनका बरिष्ठ उपाध्यक्ष नवीन कोइराला, महासचिव बिनोद बस्नेत, कोषाध्यक्ष अमित सरियाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । मेची अञ्चलमा ४० वटा पेट्रोल पम्प रहेका छन् । देशभर १८ सय पेट्रोलपम्प छन् । मेचीमा दैनिक ७५ हजार लिटर पेट्रोल र अढाई लाख लिटर डिजल खपत हुँदै आएको छ । यो चारआली डिपो अन्तर्गत वितरण हुने पेट्रोलियम पदार्थको परिमाण हो ।
आयल निगमका इन्धन डिपो कार्यालयहरु झापा, विरगञ्ज, दाङ, सुर्खेत र दिपायलबाट विक्री हुने पेट्रोलियम पदार्थमा निगमका अन्य डिपो सरह तापक्रम लस उपलब्ध गराइनुपर्ने लगायतका माग पेट्रोलियम व्यवसायीले अघि सारेका छन् । त्यस्तै पेट्रोलियम पदार्थको परिणाम लसलाई कम गर्दै लैजाने उद्देश्यले निगममा सञ्चालित सम्पूर्ण टेंकलरीहरुमा सेक्युरिटी लकिङ सिस्टम सिधै कार्यान्वयनका लागि निगम व्यवस्थापनसँग पुनः माग गर्ने एशोसिएशनको माग रहेको मेची पेट्रोलियमका बरिष्ठ उपाध्यक्ष कोइराला बताउँछन् ।
त्यस्तै भारतबाट लोड भई टैंक÷ट्रकहरुको क्यालिब्रेशन चार्टमा समस्या देखिएका कारणले परिमाण लस भएको हुन सक्ने हुँदा निगममा सञ्चालित सम्पूर्ण टैंक÷ट्रकहरुको सक्कल क्यालिब्रेशन चार्ट निगमका सम्पूर्ण विक्रेताहरुले हेर्न सक्ने गरी आयल निगमले अनलाइनमार्फत सार्वजनिक गर्नुपर्ने लगायतका माग राखी एशोसिएशन अन्तर्गत आम पेट्रोलियम व्यवसायी आन्दोलित छन् ।
राष्ट्रिय एशोसिएशनको बैठकको निर्णय अनुसार पेट्रोलिम पदार्थ विक्री वितरण गर्ने व्यवसायीहरुलाई तापक्रम लसमा प्रत्यक्ष हुने नोक्सानी व्यवस्थापनका लागि पटक–पटक सम्बन्धित निकायमा माग प्रस्तुत गरी विभिन्न चरणमा छलफल भए पनि कुनै निकास निस्कन नसकेको बताइएको छ । छलफलमा निष्कर्ष ननिस्किएपछि साउन १४ र १५ गते केन्द्र तथा जिल्लाहरुमा संघर्ष तथा वार्ता समिति गठन गरी यस संघमा आवद्ध व्यवसायीहरुलाई पेट्रोलियम पदार्थ तापक्रम लसमा हुने नोक्सानी र अन्य समस्याहरु समाधान गर्नका लागि आयल निगम, गुणस्तर तथा नापतौल विभाग, आपूर्ति मन्त्रालयसँग पत्राचार गरी आफ्ना मागहरु सम्बोधन नभएसम्म प्रारम्भिक विरोध स्वरुप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
मेची पेट्रोलियम डिलर्स एशोसिएशनले व्यवसायीको माग पूरा गराउन दबाब सृजनाका लागि सबै क्षेत्र र निकायसँग आग्रह पनि गरेको छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर