Aamsanchar

इलाका प्रशासन कार्यालय सहयोगीको भरमा

Author Image
बुधवार, साउन २५, २०७४

सोलुखुम्बु ।

इलाका प्रशासन कार्यालय सोताङ विगत एक महिनादेखि कार्यालय सहयोगीको भरमा चलेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको भए पनि अहिले कामकाज कार्यालय सहयोगीको भरमा चलिरहेको छ । अन्य कर्मचारी नहुँदा कार्यालयको सेवा ठप्प भएको छ ।

इलाका प्रशासन कार्यालयले नागरिकता, नाबालक परिचयपत्रलगायत सेवा दिने भए पनि एक महिनायता उक्त सेवा बन्द रहेको सोताङ गाउँपालिका–५ का वडाध्यक्ष पृथ्वीबहादुर बस्नेतले जानकारी दिनुभयो । पाँच जनाको दरबन्दी रहेको इलाका प्रशासनमा हाल कार्यालय सहयोगी शिवप्रसाद गौतमले कार्यालय सञ्चालन गरिरहनुभएको छ ।

कार्यालयका अधिकृत एक महिनादेखि काजमा काठमाडौँमा गए पनि त्यसको विकल्प नखोज्दा कामकाज ठप्प भएको गाउँपालिका–२ का वडाध्यक्ष ताराबहादुर राई बताउनुहुन्छ । कर्मचारी नहँुदा सोताङ र महाकुलुङ गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । नागरिकता बनाउनका लागि त्यहाँ पुगेका स्थानीयवासी निराश भई फर्किनु परेको सोताङ गाउँपालिका–१ का विकास खालिङले गुनासो गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सेवा प्रभावित भएको स्वीकार्दै यसबारे मन्त्रालयमा जानकारी गराइएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर