Aamsanchar

दमक बजार ‘बन्दमुक्त’

Author Image
बिहिवार, साउन २६, २०७४

दमक।

झापाका प्रमुख बजारहरुलाई बन्दमुक्त बनाउन स्थानीय ब्यवसायीहरुले स्वतस्फूर्त रुपमा बन्दको अवज्ञा गर्न थालेका छन् । यसैक्रममा स्थानीय वाणिज्य संघहरुको पहलमा झापाका प्रमुख तीनवटा बजारहरु बन्दमुक्त बनेका छन् । सुरुङ्गा र गौरादह बजार बन्दमुक्त भएसँगै पछिल्लो पटक झापाको दमक बन्दमुक्त भएको छ ।

छ महिनायता भएका बन्दको दमकका ब्यवसायीहरुले अवज्ञा गर्न थालेका हुन् । लिम्बुवानले गत आइतबार आह्वान गरेको बन्द पनि दमकका ब्यवसायीहरुले अवज्ञा गरेका थिए । दमक उद्योग वाणिज्य संघले बन्दमुक्त दमक बनाउनका लागि बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाको संयोजकत्वमा समिति नै बनाएर कार्यान्वयन शुरु गरेको छ ।
विगत पाँच वर्षदेखि कुनै पनि बन्दको प्रभाव सुरुङ्गामा परेको छैन । ब्यवसायीहरुले शुरुवातमा बन्दकर्ताको प्रतिकार नै गरेका थिए । झापाको पहिलो बन्दमुक्त बजारको रुपमा सुरुङ्गा बजारलाई लिइने गरेको छ । स्थानीय ब्यवसायी लीला तिम्सिनाका अनुसार सुरुङ्गालाई कुनै पनि बन्दको असर पर्दैन र बन्दमा कुनै पनि बन्दकर्ताहरु बन्द गर्नका लागि यहाँ आउने गरेका छैनन् ।
यसैगरी झापाको गौरादह पनि बन्दमुक्त भएको धेरै वर्ष भएको छ । यहाँ पनि कुनै बन्दले छुने गरेको छैन । गौरादह उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डिल्ली काफ्लेका अनुसार व्यवसायीहरुको एकता र सबैको सद्भावका कारण गौरादह बन्दमुक्त बनेको हो । अहिले पनि यहाँ कुनै पनि बन्दको प्रभाव हुने गरेको छैन ।
स्वतस्फूर्त रुपमा ब्यवसायीहरुले पसल खोल्ने गरेका छन् ।

ब्यवसायीहरुको एकताका कारण बन्दकर्ताहरु यहाँ आउन नसक्ने भएपछि बन्दमुक्त कार्यान्वयन भएको बताइन्छ । अधिकांश बन्दहरुमा ब्यवसायीहरुले बन्दकर्ता नै नआए पनि बन्द गर्ने संस्कार तथा परिपाटीले बसेकाले जस्तोसुकै सानो समूहको पनि बन्दको प्रभाव हुँदै आएको थियो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार अब दमक सदाका लागि बन्दमुक्त भएको छ ।

Views: 335

प्रतिक्रिया (०)

सम्बन्धित खबर