झापा,

कन्काईको मैनाचुलीमा र सप्तकोसीको चतरामा पानीको सतहले सतर्कता तह पार गरेको छ । अहिले पनि पानी परिरहेकाले त्यहाँ बाढीको जोखिम बढेको छ ।

तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गरेको छ । शाखाले सूचना निकालेर शनिबार बिहानसम्म पूर्वमा झापादेखि मध्य तराईका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले कन्काई, कमला, बिरिङ, त्रियुगा, रातु, खाँडो, लालबकैया, कोसी, बागमती आसपासका चुरेबाट बग्ने साना नदीमा शुक्रबार बेलुकीसम्म नै उच्च जोखिम रहेको जनाएको छ ।
शाखाले नदी तटीय क्षेत्रका बासिन्दा, त्यस क्षेत्रमा आवातजावत गर्ने व्यक्ति र सम्बन्धित सबै सरोकारवाला निकायलाई पूर्व तयारी गर्नसमेत अपिल गरेको छ ।

मनसुन सक्रिय भएसँगै अबको एक दुई दिन धेरै पानी पर्ने मौसमविदले बताएका छन् । मनसुनी न्यूनचापीय क्षेत्र नेपालमा रहेकाले अबको एक दुई दिन देशभरी नै पानी पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्नेछ । तर लगातार झरीको सम्भावना भने छैन ।
अबको केही दिन एकैछिन मौसम खुले पनि फेरि बदली भइ पानी पर्ने अनुमान छ । धेरै पानी परेसँगै बाढी र पहिरोको जोखिम झनै बढ्ने भन्दै मौसमविद् कँडेलले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अपिल गर्नुभएको छ।
माथिल्लो भेगमा पानी परे तल्लो क्षेत्रमा बाढीको जोखिम हुने भन्दै नदी आसपासमा हिँड्दा पनि सजग हुन सुझाव छ । यस्तै पहाडी भूभागमा पहिरोको जोखिम भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
यता झापामा पनि वर्षा जारी रहेकाले केही स्थान डुबानमा परेको बताइएको छ । झापाका कनकाई, विरिङ, रतुवा, कमल, निन्दा,मेची लगायतका नदीहरुमा बाढी आउन सक्ने भन्दै सर्तक रहन नेपाल रेडक्रश सोसाईटी झापाले आग्रह गरेको छ । कुनै स्थानमा तुरुन्त रेडक्रस तथा नजिकैको प्रशासनमा जारी गराउन सभापति लोकराज ढकालले आग्रह गरेका छन् ।

