Aamsanchar

राजगढमा विद्यालय सुधार योजना

Author Image
शुक्रवार, साउन २७, २०७४

राजगढ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार्न राजगढ स्रोतकेन्द्रले कार्यक्रम थालेको छ ।
बाह्रदशी गाउँपालिकामा रहेका १६ वटा सामुदायिक विद्यालय, १३ संस्थागत विद्यालय, ९ मदरसा, एक गुरुकुल र दुई वटा सामुदायिक सिकाइ केन्द्रमा विद्यालय सुधार योजना कार्यक्रम अघि बढाउँदै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि काम शुरु गरेको स्रोत व्यक्ति छवि बस्नेतले बताए ।
जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालको प्रमुख आतिथ्यमा स्रोतकेन्द्रमा एक समारोहको आयोजना गर्दै सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयका प्रिन्सिपल, मदरसाका मुल्मी, गुरुकुलका गुरु र सामुदायिक सिकाइ केन्द्रका प्रमुखलाई राखेर गुणस्तर सुधारका विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ । पशुपति माविका प्रधानाध्यापक विद्यासागर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्रोत व्यक्ति बस्नेतले गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी बरालले सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि योजना आवश्यक रहेको र सवल नेतृत्वले मात्र गुणस्तरीय शिक्षाका लागि काम गर्न सहज हुने भन्दै सवल नेतृत्व चुन्न आग्रह गरेका थिए । मदरसामा अध्ययनरत् बालबालिकालाई ऐच्छिक विषयको रुपमा सामुदायिक विद्यालयमै समावेश भएर अध्ययन गर्न सुझाव दिँदै राज्यको शिक्षाको मूलधारमा आउन सबैलाई बरालले आग्रह गरे ।
कार्यक्रममा बाह्रदशी गाउँपालिकाका प्रमुख खड्गप्रसाद राजवंशीले बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै विद्यालयका स्थलगत अवलोकन गरी विद्यालय सुधारका लागि कुनै पनि कसर बाँकी नराख्ने बताए । सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बताउँदै उनले भौतिक संरचना र पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको अभावले विद्यार्थीलाई शिक्षाको पहुँचबाट बाहिर जान नदिने बताए ।
त्यस्तै शैक्षिक तालिम केन्द्र भद्रपुरका बरिष्ठ प्रशिक्षक तुलसीनारायण अधिकारी, सामुदायिक सिकाइ केन्द्रका ओमप्रकाश गौतम, संस्थागत विद्यालयका तर्फबाट तेजबहादुर श्रेष्ठ, सामुदायिक विद्यालयका तर्फबाट श्यामनारायण गोश्वामी लगायतले बोलेका थिए ।
कार्यक्रममा सामाजिक परीक्षण, विद्यालय सुधार योजना लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमको सञ्चालन गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर