
पत्रकार सम्मेलनमा सहारा नेपाल साकोसका पदाधिकारीहरु ।

सहकारीको क्षेत्रमा देशमै उच्च स्थानमा नाम राख्न सफल बिर्तामोड२,चारपाने स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पूर्वका बाढीपीडितलाई सहयोग गर्ने भएको छ ।सहाराले झापा, मोरङ र सुनसरीका बाढीपीडित बनेका एकहजार घरपरिवारलाई सहयोग गर्ने भएको हो ।

पीडितसमक्ष तत्काल राहत, भविष्यमा पुनः स्थापना र मानवीय क्षतिमा समेत सहयोग पुर्याउने उद्देश्यले सहाराले ‘सहारा बाढी–पहिरो कोष’ स्थापना गरेको छ ।उक्त कोषमा सहाराले २५ लाख रुपैयाँ राखेको सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए ।
२५ लाखमध्ये सहाराले तत्काल राहत, खाद्यान्न तथा लत्ताकपडा वितरणका लागि ८ लाख रुपैयाँ, स्यास्थ्योपचारका लागि २ लाख रुपैयाँ तथा पुनः स्थापना र मानवीय क्षतिका लागि १५ लाख रुपैयाँ छुट्याएको छ ।यो कोषमा अन्य संघसंस्थाले पनि पैसा जम्मा गरेर सहयोग गर्न सक्ने बताइएको छ । सहाराले २५ लाख रुपैयाँ छुट्याए पनि अन्य संघ संस्थको सहकार्यमा यस कोषलाई बढाएर ५० लाख बनाउने सहाराको लक्ष्य छ ।‘हाम्रा सदस्यहरु, शुभेच्छुक तथा अन्य सहयोगी हातहरुबाट पैसा थपिने आशा गरेका छौँ,’ सहारा साकोसका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले भने, ‘यो रकम बाढी पीडितकै लागि खर्च गरेरै सक्नेछौँ ।’

उनले यस अभियानमा सहयोग पुर्याउन सबैमा अपीलसमेत गरेका छन् । १ करोडको कोष मध्यवाट सहाराले यस पटक प्राकृतिक प्रकोप तथा उद्दार कोषबाट २५ लाख रुपैयाँ निकालेको हो ।
सहाराले यसअघि नै प्रकोपमा परेकालाई सहयोग गर्नका लागि यो कोष स्थापना गरेको थियो । प्राकृतिक प्रकोप तथा उद्दारमा तन मन र सकेको धनले राहतका लागि जुटन अध्यक्ष ताराप्रसाद सञ्जेलले आग्रह समेत गरेका छन ।
सहाराले मंगलबारबाट बाढीपीडितलाई खाद्यान्न पुर्याउन सुरु गरेको छ । मंगलबार शरणामतिका एकसय, कुमरखोदका दुईसय र शिवगञ्ज क्षेत्रका एकसय ५० परिवारलाई खाद्यान्न वितरण गरिएको सहारा साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजाले बताए ।

