Aamsanchar

छोटी भन्सार कार्यालयको राजश्वमा गिरावट

Author Image
बिहिवार, भदौ १, २०७४

झापा।

झापाको भद्रपुर छोटी भन्सार कार्यालयको राजश्वमा गिरावट आउन थालेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टापछि झापाका छोटी भन्सारहरु मध्ये भद्रपुर भन्सार मासिक एक करोड राजश्व उठाउने भन्सारमा पर्छ ।
तर, आर्थिक बर्षको मासिक तथ्यांक अनुसार क्रमशः राजश्व ओरालो लाग्न थालेको देखिन्छ । ०७२।७३ मा भद्रपुर भन्सारले १३ करोड ४३ लाख ४६ हजार राजश्व संकलन गरेको थियो भने ०७३।७४मा ११ करोड ६७ लाख ९२ हजार राजश्व संकलन भएको छ । गत एक बर्षको तुलनामा भद्रपुर भन्सारमा करिब दुई करोड राजश्व संकलनमा कमी आएको छ ।
भद्रपुर भन्सारको तथ्यांक आर्थिक बर्ष ०७३।७४को साउनमा १ करोड ४२ लाख ७० हजार, भदौमा १ करोड ७९ लाख ७२ हजार, असोजमा १ करोड ९ लाख ४४ हजार, कात्तिकमा १ करोड २४ लाख ३९ हजार, मंसीरमा १ करोड १२ लाख ३५ हजार राजश्व संकलन भएको थियो ।
त्यसैगरी पुसमा ८४ लाख ५८ हजार, माघमा ५९ लाख १३ हजार, फागुनमा ६९ लाख ७६ हजार, चैतमा ७१ लाख ८२ हजार, बैशाखमा ७१ लाख ९८ हजार, जेठमा ८१ लाख ८७ हजार र असारमा ६० लाख १४ हजार बराबरको राजश्व संकलन भएको थियो । चालू आर्थिक बर्षको साउनमा ५१ लाख ७२ हजार राजश्व संकलन भएको भन्सार अधिकृत रामराजप्रसाद चौरासियाले जानकारी दिए ।
नजिकिँदै आएको दशैं र तिहार पर्वलाई मध्यनजर गरी कारोबारीहरुले सामान भित्र्याउन थालेका छन् । भारतले लगाएको जीएसटी र नदीमा पानीको सतह बढेपछि केही दिन भन्सारको राजश्वमा गिरावट आएको थियो । तर, मेची नदीमा पानीको सतह घटेपछि व्यापारी तथा कारोबारीले डुंगामा हालेर सरसामान भित्र्याइरहेका छन् । भन्सारमा सामान आउने क्रम जारी छ ।

तर, भन्सारको राजश्व वृद्धि हुन सकेको छैन । एक कारोबारी भन्छन्– भन्सारका कर्मचारीको सेटिङमा कारोबारीले आपसी समझदारीमा ४देखि ६ हजार पोका भन्सार काट्न थालेका छन् । एक पोकालाई कारोबारीले तीन पोका बनाएको हुन्छ, तर भन्सारका कर्मचारीले प्रति पोका २ हजारदेखि ३ हजार लिएर न्यूनतम् मूल्य निर्धारण गरेपछि कहाँबाट राजश्वमा वृद्धि हुन्छ– उनले प्रश्न गरे ।

भन्सारले व्यापारी तथा कारोबारीलाई केही छुट दिए पनि भद्रपुर भन्सारमा मासिक १ करोड राजश्व संकलन हुनुपर्ने, तर त्यसो भएको छैन– उनी भन्छन् । भद्रपुर भन्सारमा बुधवार कुनै पनि सरसामानको भन्सार काटिएन । भन्सारमा अनियमितता हुने गरेको प्रहरीले थाहा पाएपछि भन्सारमा प्रहरीको बाक्लो उपस्थिति भएसँगै बुधवार भन्सारमा कारोबार हुन नसकेको एक स्थानीय बताउँछन् । भद्रपुर नाकाबाट चाडपर्वलाई लक्षित गरी दैनिक लाखांै मूल्य बराबरको सरसामान भित्र्याइँदैछ ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर