झापा।
झापाको बुद्धशान्ति गाउँपालिका–३ निवासी निरोज श्रेष्ठले आमा–बुबाको स्मृतिमा जीवन विद्या स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको छ ।
सवारी दुर्घटनामा बुबा–आमाको निधन भएपछि उहाँले आमा–बुबाको स्मृतिमा प्रतिष्ठान स्थापना गर्नुभएको हो । उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गर्नुभएको हो । वैदेशिक रोजगारीको सिलसिलामा नाइजेरियामा ‘युएनएचसिआर’ मा कार्यरत उहाँले रु एक लाखको अक्षयकोष दुई वर्ष अघि नै स्थापना गर्नुभएको थियो ।
सोही अक्षयकोषको रकमबाट बुद्धआदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत गरिब तथा जेहेन्दार दुईजना विद्यार्थीलाई नगद रु आठ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ ।
त्यस्तै, बुद्धशान्ति गाउँपालिकाका अन्य विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा आर्जनका लागि सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष निशा श्रेष्ठ (ढुंगाना) ले बताउनुभयो ।