Aamsanchar

बाढीबाट जोगिएका भन्छन्–धन्न एसएमएसले बचायो/घर जानै डराउन बाढी पिडित

Author Image
शनिवार, भदौ ३, २०७४

झापा।

गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए ।ज्यान गुमाउने मध्ये ६ जनाको सनाखत भएको छ भने एक जनाको अझै सनाखत हुन सकेको छैन । बाढीका कारण दुई जना अझै वेपत्ता छन् ।

त्यस क्षेत्रको सयौं विगाह खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । झापाको सबै भन्दा बढी बाढी प्रभावित क्षेत्र पनि झापा गाउँँपालिका नै हो । माई र सानो माईको भङ्गालो गाउँ पसेपछि सिङ्गो झापा गाउँपालिका तीन दिन डुब्यो ।

बाढीका कारण झापा गाउँपालिकाको ७ नम्वर वाड टप्पु गाउँ सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो । सोही गाउँ नजिकैका टेकबहादुर दर्नालकी श्रीमती कमला र छोरी खुशीले बाढीका कारण ज्यान गुमाए । सानो माईको नजिकै घर थियो उनीहरुको । माईको भङ्गालो पसेपछि भाग्ने क्रममा आमा कमला र छोरी खुशीले शुक्रवार राति नै ज्यान गुमाएका थिए ।
तर, सोही गाउँका ३२ परिवारका एक सय ५० जनाले भने एसएमएसका कारण ज्यान जोगाएका छन् । कनकाई नदीमा बाढी आउने सूचना दुई घण्टा अघि एसएमएसबाट थाहपछि सो गाउँका ७८ जना महिला र ७२ पुरुषले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको स्थानीयबासी खोज तथा उद्धार कार्यदलको सदस्य सुनिल हस्दाले बताए ।
युएसआईडीको आर्थिक सहयोग, प्रक्टिकल एक्सनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको कनकाई बाढी पूर्व सूचना प्रणालीमार्फत उनीहरुलाई बाढी आउने सूचना मोवाइलमा एसएमएस आएपछि टप्पुवासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए । सो क्षेत्रमा तीन वर्ष कनकाई बाढी पूर्व सूचना सम्वन्धी नेपाल रेडक्रस सोसाइटी झापाले काम गर्दै आएको छ ।
सानो माई पश्चिमको गाउँ हो टप्पु । टप्पु गाउँमा पश्चिमबाट माई र पूर्वबाट सानो माईको भङ्गालो पसेपछि त्यहाँका ३२ परिवार तीन दिनसम्म डुवानमा परे । न त त्यो गाउँमा उद्धारका लागि न नेपाली सेनाको टोली पुग्न सक्यो न त त्यहाँ अरु कुनै निकायको उद्धार टोली नै पुग्यो । उद्धारका लागि खटिएको नेपाली सेना र प्रहरीको टोली बीच बाटोबाटै फर्किएपछि स्थानीयवासी आफैले कोलाको थम्बाको सहारामा सानो माई पार गर्दै तीन दिनपछि सिमलवाडीसम्म पुगेर आश्रय लिएर बसेको स्थानीय सुनिल हस्दाले बताए ।
बाढी आउने विषयमा पहिले नै सूचना पाएका थिए टप्पुवासीले । कनकाई माईको मैनाचुलीमा राखिएको बाढी पूर्व सूचना प्रणालीको माध्ययमद्वारा बाढी आउनुभन्दा दुई घण्टा पूर्व नै बाढी आउने सूचना थाहा पाएर ज्यान जोगाउन पाएकोमा विपद्मा पनि खुशी छन् उनीहरु । सन्थाल समुदायको बाहुल्य रहेका त्यहाँका वासिन्दा बाढी आउने विषयमा पूर्व सूचना प्रणालीका कारण बाँचेको बताउँछन् । तर, नेपाल रेडक्रस सोसाइटी झापाले समुदायमा पुगेर गठन गरेको सामुदायिक विपद् व्यवस्थापन समितिमा नरहेका दर्नाल परिवारको भने उठिवास भयो । सिमलवाडी र टप्पु जोड्ने सडकखण्डको वीच सानो माई खोलाको छेउमा घर बनाएर बसेका टेकवहादुरको न घर रह्यो न श्रीमती र छोरी नै रहे । मेचीनगर–१२ स्थित भाइ (फुपूका छोरा) सरमान बराइलीको घरमा उनी श्रीमती र छोरीको काज किरियामा बसेका छन् । उनीसँगै जेठी श्रीमतीपट्टीकी साइँली छोरी पनि किरिया बसेकी छिन् ।
झापा गाउँपालिका–७का पूर्व सूचना कार्यदलका संयोजक विकाश टुडूका अनुसार सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी)मा आवद्ध गाउँका ३२ घर परिवारले बाढी आउँदा कसरी बच्ने भन्ने विषयमा जानकारी लिएका थिए ।

तर, दर्नाल परिवार भर्खरै मात्र पहाडबाट बसार्इँ सरेर आएकाले बाढीबाट कसरी बच्ने भन्ने विषयको ज्ञान नभएका कारण अत्तालिएर भाग्दा ज्यान गुमाउनु परेको स्थानीयले बताएका छन् । बाढीबाट कसरी बच्ने भन्ने विषयमा जानकारी नभएको भए टप्पु गाउँका हामी कोही पनि ज्यूँदो भेटिने थिएनौं– खोज तथा उद्धार कार्यदलका सदस्य आकृति टुडूले भने । घरवारविहीन टप्पुका आकृति मात्र होइन अहिले धेरै सर्वसाधारण कनकाई बाढी पूर्व सूचना प्रणालीले ज्यान बचाउन मद्दत गरेको भन्दै औधी खुशी छन् । भत्किएको घरमा भाँडा बर्तन खोज्दै गर्दा भेटिएका सुनिल हस्दाले कनकाई सूचना प्रणाली आफूहरुका लागि बरदान नै सावित भएको बताए ।
पूर्व सूचना प्रणालीकै कारण गर्भवती महिलाको उद्धार गर्न पाएका कारण सुनिल पीडामा पनि खुशी छन् । उनी आफ्नो पीडा भुलेर भन्छन् – ‘कनकाई माईमा पानीको सतह बढेर लेभल क्रस गरेपछि खतराको सङ्केत आउनासाथ हामीले कसैलाई भाग्न दिएनौं । कोही भाग्न नपाएका कारण गर्भवती महिला, वद्धवृद्धा र वालवालिका सवैको ज्यान बच्यो ।’ बाढीबाट बच्न तालिम लिएका कारण आफूहरुले अरुको समेत ज्यान बचाउन सकेको भन्दै प्रफुल्ल मुद्रामा हस्दाले भने – ‘तालिमपछि हामीले ट्युव, लाईफ ज्याकेट, टायर लगायतका सामग्री राखेका थियौं, त्यतिले नपुगेपछि हामीले कोलाको थम्वा प्रयोग गरेर पनि टप्पुवासीको उद्धार गर्न पाएकोमा खुशी छु ।’
टप्पुवासीले वाढी आउने सूचना पाएपछि उनीहरुले पनि खतराको साइरन बजाएका थिए । वाढी आएलगत्तै मोवाइलको कनेक्सन टुटेका कारण उनीहरुले घर–घरमा पुगेर वाढी आउने भन्दै सबैलाई खवर गरेका थिए । मोवाइल सम्पर्क विच्छेद नभएको भए आफूहरुलाई जिल्लामा रहेको सूचना सञ्जाल र मैनाचुली स्टेशनबाट पनि टेलिफोन आउने थियो– स्थानीय गोपाल थपलियाले भने ।
टप्पुवासीको पहिलो आवश्यकता– स्वास्थ्योपचार
बाढीका कारण टप्पुवासीले पालेका धेरै पशु चौपाय मरेका कारण टप्पु लगायत झापा गाउँपालिकाका धेरै स्थानमा यतिवेला दुर्गन्ध फैलिएको छ । धेरै पशुचौपायलाई बाढीले बगाएर मरेपछि जताततै दुर्गन्ध फैंलिएसँगै सरुवा रोगको खतरा बढेको स्थानीय तर्सला टुडूले बताए ।

उनले यहाँको पहिलो आवश्यकता भनेको औषधि उपचार हो भन्दै अगाडि भने– बाढीबाट जसोतसो ज्यान जोगायौं, अब रोग लाग्यो भने चाँहि के गर्ने, न बस्ने घर छ न सुत्ने ओच्छ्यान नै ।’ बाढी आउने सूचना आफूहरुले दुई घण्टा अघि नै थाहा पाएपनि मुसलधारे बर्षाका कारण अन्नपात र घरमा रहेको अन्य सामग्रीलाई सुरक्षित गर्न नसकिएको उनले बताए । घरमा भएको सवै खानेकुरा बाढीले वगाएपछि अहिले हामी पानी सुकिसकेपछि पनि घर फर्कन सकेका छैनौं– उनले भने– ‘जाउँ घर छैन, नजाउँ कति दिन आश्रय लिएर बस्ने ।’
आपतकालीन अवस्थाका लागि त्यहाँका सर्वसाधरणले प्रत्येक महिना प्रतिपरिवार २०÷२० रुपैयाँ बचत गरेको रकमले दुई दिनसम्म प्राण धानेको कार्यदलकै तुर्सला बताउँछिन् । उद्धारका लागि यहाँ कोही आउन सक्ने अबस्थै थिएन उनले भने– ‘हाम्रो उद्धारका लागि कोही नआएको अवस्थामा कोषमा जम्मा गरेको पैंसाले दुईदिनसम्म खायौं । पछि सहयोग आउन थालेपछि हामीलाई राहत भएको छ ।’

‘राहत भन्दा बाँध बाँध सरकार’
बर्षेनि कनकाई नदीमा आउने बाढीले झापाबासीलाई दुःख दिने गरेपछि उनीहरुले कनकाई नदीमा तटवन्धन गर्न माग गरेका छन् । दुई मुठ्ठी चामल र एउटा त्रिपालले आफूहरुको समस्या समाधान नहुने भन्दै दीर्घकालीन सोचका साथ कनकाई नदीमा बाध बाँध्न उनीहरुले सरकारसँग माग गरेका छन् । वर्षेनि कानकाई नदीको पानी गाउँ पसेर डुवाउँदा राहत बोकेर पुग्ने सरकारका प्रतिनिधि त्यसपछि फर्केर गाउँ नजाने गरेको प्रति उनीहरु रुष्ट छन् ।

उनीहरु भन्छन्– ‘दीर्घकालीन सोचका साथ कनकाई नदीमा तटवन्धन गर्ने हो भने हामी पनि जनश्रमदान गर्न तयार छौं ।’ दुई मठ्ठी चामलले आफूहरुको दीर्घकालीन समस्याको समाधान नहुने भन्दै उनीहरुले राहतको नाममा आफूहरुको वर्षेनिको दुःख हेर्न मात्र सरकारको उपस्थिति रहने गरेको उनीहरुको आरोप छ ।
बाढीले बगायो जलमापन केन्द्र
इलामको माई नगरपालिकास्थित मैनाचुलीमा १९७१ सालमा स्थापना भएको जलमापन केन्द्र गत साता माई खोलामा आएको बाढीले बगाएको छ । युएसआईडीको आर्थिक सहयोग, प्रक्टिकल एक्सनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी झापाले कनकाई बाढी पूर्व सूचना प्रणाली सोही जलमापन केन्द्रको सहयोगमा तीनवर्षदेखि सञ्चालन गरेको थियो ।
कनकाई माई पूर्व सूचना प्रणालीका कारण झापा गाउँपालिका सहित कनकाई नगरपालिका , शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका हजारौं मानिसले ज्यान जोगाएका थिए । वाढी आउनुभन्दा ५ घण्टा अघिसम्मको सूचना दिनसक्ने जलमापन केन्द्र बगाएपछि अहिले अझ बढी चिन्तित छन् त्यस क्षेत्रका सर्वसाधारण । झापा गाउँपालिका–७ निवासी आकृति टुडू भन्छन्– ‘जलमापन केन्द्र भएन भने हामी टप्पुवासी मात्र होइन आसपासका वासिन्दाले पनि वसाइँ सरे हुन्छ ।’
पूर्व सूचना प्रणालीकै कारण आफूहरुले कनकाई नदीमा आएको बाढीबाट ज्यान जोगाएको भन्दै उनी अगाडि थप्छन्– हाम्रो यस क्षेत्रको पहिलो आवश्यकता भनेकै बाढीको सूचना थाहा पाउनु हो । आफू सामुदायिक खोज तथा उद्धार कार्यदलको सदस्य भएको बताउँदै उनले भने–‘मैनाचुलीमा राखिएको सूचना केन्द्र हाम्रालागि आधारभूत आवश्यकता जस्तै हो ।’
जलमापन केन्द्र स्थापनाको माग
कनकाई माईमा आएको बढीले मैनाचुलीमा राखिएको जलमापन केन्द्र बगाएपछि झापा गाउँपालिकाका सर्वसाधारणले जलमापन केन्द्र स्थापनाको माग गरेका छन् । बाढीबाट बच्न पूर्वसूचना प्रणाली प्रभावकारी भएको भन्दै सर्वसाधारणले पूर्व सूचना प्रणाली स्थापना गर्न माग गरेका हुन् ।
के हो पूर्व सूचना प्रणाली
कनकाई नदीमा पानीको सतह मापन गर्दै स्थानीय विपद् व्यस्थापन समिति (सीडीएमसी)मार्फत त्यस क्षेत्रका सर्वसाधारणलाई बाढी आउनुपूर्व सजग रहन दिइने सतर्कता सन्देश हो– बाढी पूर्व सूचना प्रणाली ।

यो सन्देश नेपाल रेडक्रस सोसाइटी झापा शाखा पूर्व सूचना परियोजनामार्फत कार्यक्रम लागू भएका दुई नगरपालिका र दुई गाउँपालिकाका सर्वसाधारण तथा जिल्ला प्रशासन कार्यालय झापासहित सुरक्षा निकाय, राजनीतिक दलका प्रमुख सवैलाई एकैपटक एसएमएसमार्फत पठाउने गरिन्छ । यो एसएमएस नेपाल टेलिकम र एनसेल सिम प्रयोग कर्ता दुवैले प्राप्त गर्न सक्छन् ।

जसका कारण वाढी प्रभावित क्षेत्रका सर्वसाधारण एसएमएस पढेर बाढी आउनु पूर्व नै सूचना थाहा पाएर सुरक्षित स्थानमा जानसक्ने बताउँछन्– नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल ।

कहाँ–कहाँ सञ्चालित छ पूर्व सूचना प्रणाली
झापासहित इलामको माई र देउमाई नगरपालिका तथा माङ्सेवुङ गाउँपालिकामा बाढी पूर्व सूचना प्रणाली सञ्चालनमा रहेको वरिष्ठ परियोजना अधिकृत राकेशकुमार साहले बताए । उनका अनुसार झापामा मात्रै १० हजार एक सय ४५ जना मानिस यसवाट प्रत्यक्ष लाभान्वित छन् ।
झापामा १५ वटा र इलाममा १० वटा समुदायमा यो परियोजना सञ्चालनमा रहेको छ । सामुदायिक विपद् व्यवस्थापन समितिमार्फत समुदायमा पुगेर यसले विपद् व्यवस्थापन सम्वन्धी काम गर्दै आएको बताउँछन्– परियोजना संयोजक हरिशरण खड्का । उनी भन्छन्–सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी)मा चारवटा कार्यदल हुन्छन्, सोही कार्यदलमार्फत कसरी वाढीबाट बच्ने भन्ने विषयमा सिकाइन्छ । समुदाय वेसमा पूर्व सूचना कार्यदल, प्राथमिक उपचार कार्यदल, खोज तथा उद्धार कार्यदल, र राहत तथा पुनःस्थापना कार्यदल हुने गरेको बताउँछन्– परियोजनाका फिल्ड अफिसर गौतमकुमार मण्डल ।
कनकाई माईमा कतिको वाढी आउँछ जलमापन केन्द्रले सूचना दिने गरे पनि अहिले जलमापन केन्द्र बगेको छ । उता इलाममा कति पानी परेको छ, सोको भने जानकारीका लागि इलामका ६ ठाउँमा वर्षा मापन केन्द्र राखिएको छ । इलामको कन्याम, सोक्तिम, जितपुर, राँके माइपोखरी र इलाम बजारमा रहेको वर्षा मापन केन्द्रबाट पनि इलाममा कति पानी प¥यो र माईमा कत्रो बाढी आउँदैछ भन्ने विषयमा झापाका मानिसले घरमा नै बसीवासी जानकारी लिएर बाढीबाट सुरक्षित हुने सक्ने बताउँछन्– परियोजना प्रमुख खड्का ।
घर फर्कन डराउँछन् बाढी पीडित
कनकाईमा राखिएको जलमापन केन्द्र बाढीले वगाएपछि पुनः बाढी पस्ने डरले झापा गाउँपालिकाका अधिकांश मानिस पानी सुकिसकेपछि पनि घर फर्कन डराउँदैछन् । पुनः बाढी आउला र बगाउला भन्ने डरले उनीहरु घर फर्कन सकिरहेका छैनन्– झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भने ।
वाढी पीडित मध्ये केही घर फर्किएका छन् भने केही अझैं विद्यालय, मदरसा, सामुदायिक भवनमा नै आश्रय लिएर बसिरहेका छन् । अध्यक्ष साहका अनुसार गाउँपालिकाको वडा नं. ३ र ७ मा पर्ने सिमलबारीका करिब एक सय परिवार अझै स्थानीय विद्यालयमै बसेका छन् । उनीहरु घर फर्किएर बस्न सक्ने अवस्था छैन– उनले भने– ‘धेरैको घर छैन, भएकाहरुको पनि बस्न सक्ने अवस्था छैन ।’
साहले व्यवस्थित बसोबासका लागि गाउँपालिकाभित्र सरकारी जमिनको खोजी कार्य शुरु गरिएको बताए । ‘खोला किनारका केही परिवारलाई अन्यत्र सार्नैपर्ने अवस्था छ– साहले भने–‘हामी सरकारी जमिन खोजिरहेका छौं । जमिनको व्यवस्थापन भयो भने व्यवस्थित आवासको व्यवस्था गर्नुको विकल्प छैन ।’ अहिले बाढी पीडित त्यस क्षेत्रका स्थानीयवासीका लागि जिल्ला रेडक्रस सोसाइटीको संयोजनमा विभिन्न दाताले राहतका सामग्री उपलव्ध गराएर उनीहरुको दैनिकी चलिरहेको छ ।

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर