Aamsanchar

बाढी पिडित बालबालिकाको ब्यथा– न पोशाक छ न कपी कलम छ

Author Image
आइतवार, भदौ ४, २०७४

बिर्तामोड।

गतहप्ता आएको बाढीका कारण झापाका सयौं विद्यार्थी पढाइबाट बञ्चित भएका छन् । मध्यरातमा आएको बाढीले घर बगाएर बिस्थापित बनेका सयौं विद्यार्थी दोहोरो पीडाबाट प्रताडित छन् ।

विभिन्न सार्वजनिक स्थलमा आश्रय लिएर बसेका विद्यार्थी अहिले दक्षिणी झापाका अधिकांश विद्यालय सञ्चालन हुन नसक्दा पढाइबाट बञ्चित भएका हुन् । घर जाउँ–घर छैन, विद्यालय जाउँ भने न पोशाक छ न कपी कलम छ, न त खाने अन्न नै । दक्षिणी झापाको झापा गाउँपालिकाका अधिकांश विस्थापितहरुको अवस्था यस्तै छ र यही अवस्थामा छन्, उनीहरुका छोराछोरी पनि ।
जिल्ला शिक्षा कार्यालय झापाका अनुसार बाढीका कारण दक्षिणी क्षेत्रका १५ वटा भन्दा बढी विद्यालयमा क्षति पुगेको छ । जसका कारण विद्यालय बन्द छन् । विद्यालय खुले पनि विद्यार्थी आउन नसकेका कारण कतिपय विद्यालयका कक्षा कोठा खाली नै हुने गरेका छन् ।
बाढीले बगाएर लालपानी मावि शिवगञ्जमा कक्षा ९मा पढ्ने एक विद्यार्थीको ज्यान गयो । उता बाह्रदशी गाउँपालिकामा रहेको दिव्यज्योति माविको कक्षा ९मा अध्ययनरत् अर्का विद्यार्थीले पनि बाढीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गुमाए ।
विद्यालय जान पनि विद्यार्थीलाई अहिले सहज छैन– झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले भने– कतिपय स्कूलमा एकातिर बाढी पीडित राखेका छौं, अर्कातिर विद्यार्थी राखेर पढाइ राखेका छौं । बाढीका कारण बाटो भत्किएर परेको खाल्डोमा जमेको पानीमा डुब्लान् भन्ने पिरले अभिभावकले विद्यार्थीलाई स्कूल नपठाउने गरेको अध्यक्ष साह बताउँछन् । शुक्रवार आएको बाढी पछि शिक्षा समितिको आपतकालीन बैठक बसेर आइतवार झापाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बाढीले कुन–कुन विद्यालयमा कति–कति क्षति भयो त्यसको तथ्यांक संकलन भइरहेको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बताए । उनले भने– हरेक क्षेत्रका स्रोतव्यक्तिलाई तथ्यांक संकलन गर्न भनेका छौं, मानवीय क्षतिसहित भौतिक क्षतिको अवस्थाको विवरण स्रोतव्यक्तिले बुझाए पछि मात्रै के–कति क्षति भयो, त्यस विषयमा भन्न सकिन्छ । बाढीका कारण विस्थापित बनेका अधिकांश मानिस अझै पनि विद्यालयमै बसेकाले सबैतिरका विद्यालय सञ्चालन हुन नसकेको जिल्ला शिक्षा अधिकारी बरालले बताए ।
जिल्ला शिक्षा कार्यालय झापाका विद्यालय निरीक्षक हरिप्रसाद मिश्रका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश विद्यालयका पर्खाल भत्किएका छन् भने कतिपय विद्यालयका डेस्क बेञ्च नै बगाएकाले समस्या सृजना भएको छ । निर्माणाधीन भवनमा समेत बाढीले क्षति पु¥याएको मिश्र बताउँछन् । उनी भन्छन्– भवन निर्माणका लागि ल्याइएको सिमेन्ट लगायतका सामग्री बाढीले नष्ट गरेको छ । कुन विद्यालयमा के कति क्षति भयो, अझैसम्म यकिन भन्न नसकिने बताउँदै उनी भन्छन्– विवरण संकलन गर्न अझै केही समय लाग्छ ।

Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर