बुधवारे।
पेप्सीकोला कम्पनीबाट उत्पादित पेय पदार्थ माउन्टेन डिउ मा मरेका कमिला र लेदो फेला परेको छ । बुद्धशान्ति–३ पहाडी चोकस्थित चन्द्र मिष्ठान्न भण्डारमा ग्राहकले डिउ पिउने क्रममा बोतलभित्र कमिला र लेदो भेटेका हुन् ।
ग्राहक बुद्धशान्ति–१ होक्से निवासी भुपेन गिरीले आफू बिहान साढे सात बजे सो मिष्ठान्न भण्डारमा आई २५० एमएलको डिउ किनेर पिउँदै गर्दा अन्तिमतिर पुगेपछि मुखमा केही बाक्लो र दुर्गन्धित बस्तु परेपछि अत्तालिएर हेर्दा मरेका कमिला र लेदो भेटेको बताए ।
उनले त्यस्तो फोहोर केही निलेको कारणबाट आफूले दुईपटक बान्ता गरेको, पेट ढाडिएर फुलेको र खान मन नलागेको समेत बताए । उक्त पेयपदार्थ आफूले आफ्नो नियमित सप्लायर्स द.नं.६०५६२१११६ सिद्धकाली मार्केटिङ बिर्तामोडसँग लिएको चन्द्र मिष्ठान्न भण्डारका सञ्चालक जालन्धर साहले बताए । उनले पहिलेदेखि नै उक्त सप्लायर्ससँग नियमित रुपमा आफूले पेयपदार्थ लिने गरेको समेत जानकारी दिए ।
यस्ता पेयपदार्थ उत्पादन गर्ने कम्पनीहरूको सोझै लापर्वाहीका कारण उपभोक्ताहरूको स्वास्थ्यमाथि भएको खेलवाडलाई नियमन र नियन्त्रण गर्ने निकायहरू, बजार अनुगमन गर्ने निकायहरूको ध्यान जान अनिवार्य छ ।
मार्केटिङ सप्लायर्सहरूले पनि आफ्नो व्यवसाय मात्र होइन, आफूले सप्लाई गरेका वस्तुहरू कति गुणस्तरीय वा स्वस्थकर छन् भन्ने जाँचबुझ गरेर मात्र लैजानुपर्छ भन्ने कुरा बुझ्न जरुरी देखिन्छ ।