Aamsanchar

कोशी पलारमा पशु चौपाया धमाधम मर्न थाले

Author Image
आइतवार, भदौ ४, २०७४

राजविराज।

एक साता अगाडि विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १५ रमपुरा मल्हनीयाको डलबास्थित कोशी पलारमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।

दूध र दहीका लागि प्रख्यात सो क्षेत्रमा बाढीसँगै पशु चौपायामा विभिन्न रोगका प्रकोप देखा परेपछि त्यहाँका सयाँैं पशु चौपाया मरेको स्थानीयवासी चन्दन यादवले जनाकारी दिनुभयो ।

लगातारको वर्षापछि आएको बाढीले कोशी नदीको छेउमै रहेका बासिन्दा डुबानमा परेपछि पशु चौपाया लिएर एक सातादेखि सो कोशी बाँधमा बस्दै आएका छन् । बाढीबाट पीडा झेलिरहेका उनीहरु अहिले पशु चौपाया एक्कासि मर्न थालेपछि झन् चिन्तित बनेका छन् ।

स्थानीयवासी राजेन्द्र यादवका १५ गाई, बाच्छाबाच्छीसहित चन्दन यादव, सुरज यादव, कारी यादव, फकलेश्वर यादव, रामनाथ यादव, महादेव यादव, बालेश्वर यादवलगायतका पशुचौपाया मरेको बताइएको छ । चौपाया मरेपछि लाखौँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
लगातारको वर्षापछि पशु चौपाया लिएर एक सातादेखि बाँधमा बस्दा चौपायाका केही खानेकुरा घरमै छुटेको र केही बगाएपछि खाना नपाएर कतिपय पशु चौपाया मरिसकेका छन् भने कतिपय मर्ने अवस्थामा रहेको स्थानीयवासी किसान बताउँछन् ।

खाँडो नदीमा आएको बाढीका कारण जिल्लाका दक्षिण भेगका रम्पुरा मल्हनिया, सकरपुरा, लौनिया, तिलाठी, हनुमाननगर, इनर्वा, कोइलाडीसहितका गाविसका दर्जनौं पशु चौपाया अहिले पनि खाना नपाएर मर्ने अवस्थामा रहेको बताइएको छ । पशु चौपाया मरे पनि अहिलेसम्म आवश्यक औषधि तथा अन्य कुनै सेवा सुविधा सरकार तथा पशुसेवा कार्यालय एवं सम्बन्धित निकायबाट नपाएको कृषकको गुनासो छ ।

सो क्षेत्रमा चौपाया मरेपछि महामारी फैलिनसक्ने सम्भावनासमेत बढेको छ । बाढीग्रस्त क्षेत्रमा अहिले पानी सुक्दै गएको अवस्थामा घाम लागेसँगै मरेका चौपाया गनाउन थालेपछि स्थानीयवासी त्रसित छन् । साथै बाँधका चारैतिर पानी नै पानी भएकाले कतै बाहिर जान नसकेका कारण त्यहाँ बस्ने मानिसमा महामारी फैलिने सम्भावना देखिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर