झापाको शिवसताक्षी नगरपालिकामा आगामी असोज ४ गतेदेखि प्रथम दूधे गोल्डकप फुटबल हुने भएको छ । आयोजक दूधे युथ क्लबले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।
स्थानीय दूधे खेल मैदानमा हुने प्रतियोगितामा दुई विभागिय सहित ८ वटा टोलीले सहभागिता जनाउने भएको आयोजकले जनाएको छ । आयोजक दूधे युथ क्लब तथा सह आयोजक संस्थाहरु लायन्स क्लव अफ शिवसताक्षी र साताक्षी सेसीज रहने प्रतियोगितामा नेपाल आर्मी, एपीएफ, रुपन्देही ११, चर्च ब्वाइज युनाइटेड, मोरङ-११, हिमालयन शेर्पा क्लब, रमपम झापा-११ र आयोजक मैदानमा उत्रनेछन् ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने आर्थिक विभाग प्रमुख यामनाथ काफ्ले बताए ।