Aamsanchar

हात्तीको आक्रमणबाट झापामा ३२ जनाको मृत्यु

Author Image
सोमवार, भदौ ५, २०७४

नरेन्द्र ढकाल/

बिर्तामोड ।

प्रकृतिक प्रकोपका कारण धेरै नेपालीले ज्यान गुमाउनु परिरहेका बेला झापामा जङ्गली जनावरको आक्रमणका कारण समेत धेरैले ज्यान गुमाउनु परेको छ ।

जिल्ला वन कार्यालयका अनुसार आर्थिक वर्ष २०६८÷६९ देखि २०७३÷७४ सम्ममा ३२ जनाले ज्यान गुमाउनु परेको छ । जंगली हात्तीको आक्रमणका कारण आर्थिक वर्ष २०६८÷६९ मा मात्रै ९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आर्थिक वर्ष २०६९÷७० मा ८, आर्थिक वर्ष ७०÷७१ म ३, आर्थिक वर्ष ७१÷७२ मा १, आर्थिक वर्ष ७२÷७३ मा ४ र गत आर्थिक वर्ष २०७३÷७४ मा ७ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विगतका केही वर्षहरुमा भारतबाट प्रवेश गर्ने गरेका जंगली हात्तीले गाँउमा पसेर उपद्रो मच्चाउने गरेका थिए । विशेष गरी उन्नबाली पाक्ने बेलामा भारती जंगली हात्ति नेपाल प्रवेश गर्ने गरेको र उपद्रो मच्चाउने गरेको जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले बताए । विगतका वर्षहरुमा जंगली हात्तिको आक्रमणबाट धेरै ज्यान गुमाउनु परेको भन्दै क्रमश उक्त संख्यामा कमी आउन थालेको वन कार्यालयले जनाएको छ ।

भारतबाट आएका हात्तीहरु नियन्त्रणका लागी सरकारले विभिन्न पहल गरेको उनको भनाई छ । उनका अनुसार मेचीनगरपालिकाको बाहुनडाँगीमा १८ किलो मिटरसम्म फेन्सीङ तार जडान गरेर जंगली हात्ति नियन्त्रणको प्रयास गरिएको छ । विद्युतीय तारबारका कारण उक्त क्षेत्रमा हात्ति आतंक केही हदसम्म भएपनि रोकिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

पछिल्लो समय भारतीय हात्ति नआएपनि याहँकै स्थानीय हात्तिले आतङ्क मच्चाउने गरेको वन कार्यालयका प्रमुख सुवेदीको भनाई छ । उनका अनुसार झापाका कचनकबल, बाह्रदशी, झापा, हल्दिबारी,बुद्धशान्ति गाँउपालिका तथा मेचीनगर, भद्रपुर र विर्तामोड नगरपालिकाका विभिन्न स्थानमा जंगली हात्तिले दुःख दिने गरेको छ । स्थानीय सामुदायीक वनहरुमा बस्ने हात्तिले बेलाबेला गाँउमा पसेर उपद्रो मच्चाउने गरेको प्रमुख सुवेदीले बताए ।

दुई सिजनमा हैरान :

जंगली हात्तिले बर्खा याममा मकै बाली हुने हुदाँ मकै खान गाँउ पस्ने तथा हिउँद महिनामा धान पाक्ने भएकाले मुख्य यो दुई सिजनमा जंगली हात्तिले दुःख दिने गरेको वन कार्यालयका प्रमुख सुवेदीको भनाई छ ।

दिनभरी जंगलमा रातपरेपछि गाँउ :

जंगली हात्तिहरु दिनभरी स्थानीय चारकोसे झण्डी, चारआली स्थित सामसदायीक वन लगायतका स्थानीय जंगलहरुमा बस्ने गरेका छन् । रात परेपछि उनीहरु अन्नबाली खानका लागी गाँउ पस्ने र नभेटेमा घरहरु भत्काउदै अन्नबाली खानुका साथै मानिसमाथि आक्रमण समेत गर्ने गरेको पाइएको जनाइएको छ । पछिल्लो समय जंगली हात्तिले घरहरु भत्काउने क्रम बढेको समेत पाइएको बताइएको छ ।

६ वर्षमा ८ जंगली हात्ती मरे :

आर्थिक वर्ष २०६८÷६९ देखि २०७३÷७४ सम्ममा ८ वटा जंगली हात्तिको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ६ वर्षको अवधिमा केही हात्तिलाई स्थानीयले आक्रमण गरेर पनि मारिदिएको जनाइएको छ । मानिसको ज्यानै लिने तथा वर्षभरीको अन्नपात खाएर सखाप पार्ने गरेपछि स्थानीयले जंगली हात्तिलाई आक्रमण गर्ने गरेको बताइएको छ ।

दुई करोड ३४ लाख राहत :

जंगली हात्तिको आक्रमणबाट मृत्यु, घाइते, अन्नबाली नष्ट, भौतीक संरचना नष्ट लगाय विभिन्न शिर्षकमा दुई करोड ३४ लाख ८३ हजार ४२४ रुपैंया राहत वितरण गरेको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेद गरिएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा मात्रै हात्तीको क्षति वापत ३९ लाख ९४ हजार २०५ रुपैया राहत स्वरुप वितरण गरिएको छ । वन्यजन्तु क्षतिपूर्ति नियमावली अनुसार झापामा जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घरगोठ क्षति वापत जिल्ला वन कार्यालय झापाले सो रकम वितरण गरेको हो ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर