Aamsanchar

जग्गा खरिद प्रकरणमा निगमले अनियमितता गरेको प्रमाण फेला,प्रक्रिया मिलाएर भ्रष्टचार

Author Image
बुधवार, भदौ ७, २०७४

झापा :

प्रदेश नम्बर-१ मा पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्यले झापाको मेचीनगर-१३ स्थित चारआलीमा नेपाल आयल निगमले खरिद गरेको जग्गामा प्रक्रिया मिलाएर भ्रष्टचार गरेको संसदको उद्योग, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित समितिले ठहर गरेको छ।

समितिले बुधबार निगमले खरिद गरेको मेचीनगरस्थित चारआलीको २३ बिघा ३ कठ्ठा १३ धुर जग्गा अनुगमन गर्दै प्रस्ट अनियमितता भएको जनाएको हो। समितिका सदस्य तथा सांसद दीपक कार्कीले उक्त स्थानमा जग्गाको मूल्यदर निगमले देखाएजस्तो त्यत्रो धेरै नहुने बताए। उनले भने, ‘हामीले पहिला पनि भनेको थियो, यहाँ प्रस्ट अनियमितता छ भनेर अझ यहाँ स्थलगत अनुगमन गर्दा स्थानीयसँग कुरा गर्दा प्रस्ट भयो, यहाँ भ्रष्टचार भएको छ।’

उनका अनुसार निगमले कठ्ठाको १३ लाख ५१ हजारकाले खरिद गरेको भन्दै यो दर धेरै भएको बताए। उनले भने, ‘यो ठाउँमा हेर्दै धेरै भयो, हामी यही प्रतिवेदन बुझाउँछौं।’ जग्गा ठीक ठाउँमा भए पनि मूल्य बढी हालेर अनियमितता गरेको सांसद कार्कीले बताए। उनले भने, ‘यो ठाउँ पेट्रोलियम पदार्थ भण्डारणका लागि ठीक छ, हामीले यसमा प्रश्न उठाउने ठाउँ छैन तर, मूल्य बढी भयो कठ्ठाको १३ लाख ५१ हजार यहाँ पर्दैन।’ उनले निगमले ३३ करोड ६० लाख बढी मूल्य लगाएको बताए।

सांसदको उद्योग, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित समितिले  पेट्रोलियम पदार्थ भण्डारण गर्न १० बिगाह जग्गा भए हुने बताए पनि निगमले आफूहरुको निर्णयविपरीत २४ बिघा जग्गा खरिद गरेको भन्दै आपत्ति जनाए। उनले भने, ‘हामीले यहाँ १० बिघा भए पुग्छ भनेका थियौं, त्यो निर्णयविपरीत गएर २४ बिघा खरिद गरियो, त्यसमा पनि हुनै नसक्ने मूल्य लगाएर भ्रष्टचार गरिएको छ।’ प्रक्रिया पुर्‍याएर भ्रष्टचार गरेको छ समितिका सदस्य एवं सांसद रामवीर मानन्धरले निगमले प्रक्रिया पुर्‍याएर भ्रष्टचार गरेको बताए।

उनले भने, ‘यहाँ आएर हामीले हेर्दा पनि प्रस्ट देखिन्छ, कठ्ठाको ६ लाखभन्दा धेरै नजाने ठाउँमा १३ लाख ५१ हजार हालेको देखिन्छ, यो प्रक्रिया मिलाएर गरिएको भ्रष्टचार हो।’ उनले आफूहरुले प्रतिवेदन तयार पारेर बुझाउनै यहाँसम्म आएको बताए। उनले भने, ‘हामीले स्थलगत अनुगमन गरेका छौं, स्थानीयसँग कुरा गरेका छौं, यसलाई आधार बनाएर प्रतिवेदन बुझाउँछौं।’

जग्गा बेच्ने स्थानीय के भन्छन्?

यता, आफ्नो जग्गा निगमलाई बिक्री गरेका स्थानीयले पनि ४ लाख ५० हजार रुपैयाँ प्रतिकठ्ठा जग्गा खरिद गरेको बताएका छन्। निगमलाई ३ बिघा जग्गा बिक्री गरेका अनिल कुमार कार्कीले जग्गा निगमलाई बेचेको भन्नेसमेत थाहा नभएको बताए। उनले भने, ‘मैले काठमाडौंका नीरज थपलियालाई भनेर जग्गा बेचेको हुँ, निगमलाई भनेर त मलाई थाहा पनि थिएन।’

उनले ४ लाख ५० हजार कठ्ठाले ३ बिगाह जग्गा बिक्री गरेको बताए। उनले भने,‘मेरो दाइ डाक्टर महेन्द्र कार्कीको नाम रहेको यो जग्गा मैले नै बेचेको हुँ, दाइ अमेरिका हुनुहुन्छ, दाइलाई सोधेको खोला छेउको जग्गा हो राम्रै भाउ आएछ, भन्नुभयो र बेचेको हुँ।’ उनले आफूले राजीनामा पास गरेको प्रतिलिपि समेत नपाएको बताए।

उनले भने, ‘मैले राजीनामा पास गरिदिएपछि त प्रतिलिपि पाउनुपर्ने होला केही पाएको छैन, पैसा चाँहि उहाँहरुले इन्भेस्टमेन्ट बैंकको चेक दिनुभयो, त्यहीँबाट साटें।’ निगमको टेन्डरमा २४ बिगाह खरिद गर्ने उल्लेख भए पनि जग्गा धनीले २३ बिघा ३ कठ्ठा १३ धुर मात्र पास गरिदिएका हुन्। ६२ करोड ६१ लख ८८ हजार ५ सयमा खरिद गरेको बताइएको छ। उक्त जग्गा निगमले गत वैशाख महिनामा खरिद गरेको हो।साभार : थाहाखबरबाट

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर