झापा।

गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको आरोपमा भारतको शिलगढीमा पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१०का २७ वर्षीय उदयहाङ फागो २५औं दिनमा बिहीबारराति रिहा भएका छन् ।
गत साउन १६ गते आमाको उपचारका लागि भारतको शिलगढी गएका फागोलाई भारतीय प्रहरीले फेमेली क्लिनिकबाटै पक्राउ गरेको थियो । पक्राउ परेका फागो बिनाशर्त रिहा गर्न विभिन्न राजनीतिक दल, मानवअधिकारीवादी संघ–संस्था, परिवार तथा सरकारी निकायबाट पनि पहल भएको संघीय लिम्बुवान मञ्च नेपाल झापाका अध्यक्ष धनबहादुर पन्धाकले जानकारी दिए ।
गोर्खाल्याण्ड आन्दोलनलाई सघाएको कारण फागोलाई पक्राउ गरेको भारतीय प्रहरीले दाबी छ । तर, उनी गोर्खाल्याण्ड आन्दोलनबारे बेखबर रहेको परिवारले जनाएको छ । फागोलाई पक्राउ परेको दुई दिनअघि शिलगढीदेखि ८ किलोमिटर उत्तरको सुकुना भन्ने स्थानमा गोर्खाल्याण्डका आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
आन्दोलनकारीले निकालेको खुकुरी जुलुसलाई सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोज्ने क्रममा भएको झडपमा दुई सुरक्षाकर्मी र दुई आन्दोलनकारी गम्भीर घाइते भएका थिए । उक्त घटनामा संलग्न भएको भन्दै उनलाई पक्राउ गरिएको थियो । नेपालीलाई अनाहकमा पक्राउ गरेपछि सर्वत्र विरोध भएको थियो ।
यसैबीच बिनाकारण पक्राउ गरी दार्जीलिङ प्रहरीले हिरासतमा राखेको भन्दै राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापा शिलगढी पुगेका थिए । थापाले विहीवार फागोलाई लिएर आएको उनका बुबा राजकुमारले बताएका छन् ।

