Aamsanchar

सातै प्रदेशमा विपत् व्यवस्थापनको विशेष व्यवस्था गरिने-मन्त्री गौतम

Author Image
शुक्रवार, भदौ ९, २०७४

भद्रपुर।

सिँचाइमन्त्री सञ्जयकुमार गौतमले मुलुकमा हालै अविरल वर्षा र बाढीका कारण भएको जनधनको क्षतिप्रति सरकार गम्भीर भएको बताउनुभएको छ ।  जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो। विपत् व्यवस्थापनमा राज्य कमजोर रहेको प्रसंग उल्लेख गर्दै अब सरकारले सातवटै प्रदेशमा विपत् व्यवस्थापनका लागि विशेष व्यवस्था गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

विपत्मा परेका नागरिकलाई उद्धार एवं राहतमा खटिने सबै निकायलाई धन्यवाद दिंदै मन्त्री गौतमले सिँचाइ क्षेत्रमा देशभरमा लगभग रु २० अर्ब बराबरको धनमाल क्षति भएकाले सरकारसँग भएका साधन र स्रोतको उच्चतम प्रयोग गरी बाढी र अविरल वर्षाबाट क्षति भएको संरचनालाई निर्माण गरिनेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले साउन २७ गतेदेखि २९ सम्मको अविरल वर्षा र बाढीका कारण झापामा १६ जनाले ज्यान गुमाएको, दुईजना बेपत्ता भएको, दुई हजार ४२५ परिवार प्रभावित, दुई हजार ४४४ परिवार विस्थापित, ६४४ घर पूर्णरुपमा ध्वस्त, एक हजार ५४१ घरमा आंशिक क्षति र ५० वटा घर उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।

उहाँले बाढी र वर्षाबाट कृषि क्षेत्रमा रु एक अर्ब ६ करोड बराबरको क्षति भएकामा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय अन्तर्गतको ‘सिँचाइ जनताको तटबन्ध कार्यक्रम’मा रु दुई अर्ब १५ करोड बराबरको क्षति भएको विवरण प्रस्तुत गर्नुभयो । सिँचाइमन्त्री गौतमले आजै रतुवा नदीमा आएको बाढी र कटान भएको क्षेत्र गौरादह नगरपालिका– ६ दुवाटोली र कमल गाउँपालिका अन्तर्गत झर्का भन्ने स्थानको निरीक्षण गर्नुभयो ।

सो अवरमा गौरदह नगरपालिकाका प्रमुख रोहित साहले रतुवा नदीबाट भएको क्षति र नदी नियन्त्रण गर्न स्थानीय जनताको तर्फबाट एक ज्ञापनपत्र पनि बुझाउनु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर