Aamsanchar

पर्यटकको संख्या दोब्बरले वृद्धि

Author Image
आइतवार, भदौ ११, २०७४

अर्घाखाँची ।

प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्या वृद्धि भएको छ । बिगतका वर्षको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्यामा दोब्बर भन्दा बढी छ ।

विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन आउने गरेकामा अहिले दैनिक एक हजारदेखि दुई हजारजनासम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताउनुभयो ।

‘नेपाल मन्दिरै मन्दिरको देशको रुपमा चिनिन्छ र यहाँका कतिपय मन्दिरमा मासिक लाखौ भेटी संकलन भएपनि उपयोग भएको सुनिदैन तर जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको यस मन्दिरको भेटी भने विकास निर्माणका काममा उपयोग भइरहेको छ ।

मन्दिरमा चढाएको भेटीबाट खाँचीकोटस्थित आदर्श माविमा छ जना र सितापुरस्थित शान्ति निमाविमा चार शिक्षकलाई तलव उपलब्ध गराउन मासिक एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताउनुभयो ।

यस्तै सन्धिखर्कमा रहेको पाणिनी बेद विद्याश्रमका लागि वार्षिक एक लाख २० हजार उपलब्ध गराउनुका साथै अन्य विकास निर्माणका काममा पनि सहयोग उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष सो मन्दिरमा रु. ६० लाख आम्दानी भएको थियो भने यसवर्ष रु ८० लाख पुग्ने अनुमान छ । वैशाख १ गते नयाँ वर्षको दिन १२ हजार भन्दाबढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा एक लाख नौ हजार आठ सय भेटी संकलन भएको उहाँको भनाइ छ ।

मन्दिरको दर्शनका लागि अर्घाखाँची, कपिलबस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाटसमेत धार्मिक पर्यटक सुपादेउरालीमा दर्शन गर्न आउने गरेका छन् ।
विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले विद्यालय सञ्चालनमा सहज भएको आदर्श मावि प्रधानाध्यापक डिल्लीराज थापाले बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन विद्यालय सञ्चालन, विकास निर्माण, बिरामीको उपचारमा सहयोग गर्दै आएको छ । धेरै भेटी संकलन हुने नेपालका अन्य ठूला मन्दिरमा पनि उठेको भेटी पनि यसैगरी सामाजिक काममा लगाउनुपर्नेमा समितिका उपाध्यक्ष गोवद्र्धन थापाले जोड दिनुभयो ।

सुपादेउराली नजिकै नरपानीको डाँडाको मनोरम दृश्यका साथै विभिन्न हिमाल देखिने भएकाले यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्ने देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर