विराटनगर ।

नेपाल रेडक्रस सोसाइटी मोरङले जिल्लाका बाढीबाट पूर्ण क्षति भएका दुई हजार ७८१ परिवारमध्ये आज एक हजार ५७१ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

प्रतिपरिवारलाई भाडाँकुडा, त्रिपाल, कम्बल, डोरी, चक्कु, साबुन, जीवनजल, बाल्टिन र कपडा दिइएको संस्थाका वरिष्ठ अधिकृत कुमारप्रसाद निरौलाले जानकारी दिनुभयो ।

बाढीबाट प्रभावित विराटनगर महानगरपालिकाका– १९ का ३२५ परिवार, वडा नं १२ का ४७ परिवार र वडा नं १ का २४९ परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

त्यस्तै बूढीगंगा गाउँपालिका–१ देखि ७ सम्मका २३० परिवार, कटहरी गाउँपालिकाका ३६९ परिवार, रतुवामाई नगरपालिकाका १५८ परिवार, सुन्दरहरैंचा नगरपालिकाका २२ परिवार, बेलबारी नगरपालिकाका १२ परिवार, केराबारीका ३८ परिवार र हसन्दहका चार परिवारलाई राहत दिइएको रेडक्रस मोरङले जनाएको छ ।
Views: 152

