Aamsanchar

झापामा बाढीले २५ अर्बको क्षति

Author Image
मङ्गलवार, भदौ १३, २०७४

दमक।

जिल्ला प्रशासन कार्यालय झापाले दुई साता अघि लगातार आएको बर्षा र त्यसपछिको बाढीका कारण भएको जनधनको क्षतिको प्रारम्भिक चरणको लगत तयार पारेको छ । बिभिन्न क्षेत्रमा पुलपुलेसा, बाटाघाटाहरु क्षतबिक्षत भएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले झापामा करिब २५ अर्ब बराबरको क्षति भएको उल्लेख गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीका अनुसार कृषि र भेटनरी बाहेक आफूहरुसँग आएको क्षति विवरण तथा बिभिन्न क्षेत्रमा भएको प्रारम्भिक क्षति अनुमान अनुसार २२ अर्व मूल्य बराबरको क्षति भएको छ । यसबाहेक कृषि र भेटनरीमा पनि ठूलो क्षति भएको बताइन्छ । यसअघि कृषि बिकास कार्यालय झापाले कृषि क्षेत्रमा डेढ अर्बको क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । खेतीयोग्य जग्गा कटान गर्ने काम अहिले पनि नरोकिएकाले कृषि क्षेत्रको क्षति अझै बढ्ने बताइन्छ ।
बाढीले क्षतिग्रस्त बनाएका संरचनाहरुको बिभिन्न टोली बनाएर अनुगमन गरिएको र सम्बन्धित सरोकारवाला निकायहरुलाई पनि आफू अन्तर्गतको क्षति विवरण तयार पार्न निर्देशन दिएर लगत संकलन गरिएको सहायक प्रजिअ तिवारीले बताए । अहिले पनि क्षति विवरण आइरहेको सहायक प्रजिअ तिवारीले जानकारी दिए । उनले भने– ‘यस बर्ष आएको बर्षा र बाढीले जिल्लाका सबै स्थानीय तहमा ठूलो भौतिक क्षति पुर्याएको छ र अहिले पनि क्षति भएका संरचनाहरुको बिषयमा जानकारी आउने क्रम जारी छ ।’
१६ जनाको मृत्यु २ जना बेपत्ता
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार १६ जनाको बाढीले बगाएर मृत्यु भएको छ । दुई जना अहिले पनि बेपत्ता नै रहेकाछन् । कन्काई, कमल, विरीङ, रतुवा लगायतका खोलाहरुमा आएको बाढीले धेरै जनधनको क्षति गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
मृत्यु हुनेको संख्या भने रेडक्रस र जिल्ला प्रशासन कार्यालय झापाको बेग्लाबेग्लै रहेको छ । तिवारीले पनि यसलाई स्वीकार गर्दै प्रहरीका युनिटहरुले ल्याएका विवरणहरुलाई आधार बनाएको बताए । बेपत्ता भएका दुई जनाको पनि खोजी कार्य जारी रहेको छ । बेपत्ता हुनेमा झापा गाउँपालिकाका नागरिक रहेका छन् ।
पूर्ण रुपमा बिस्थापित धरपरिवार ६ सय ४४
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार ६ सय ४४ घरपरिवार बाढीका कारण पूर्ण रुपमा बिस्थापित भएका छन् । उनीहरु अहिले बिभिन्न बिद्यालय, सार्वजनिक भवन तथा आफन्तको शरणमा बसिरहेका छन् । उनीहरुको घरको नामनिशान नै रहेको छैन ।
यस्ता घरपरिवारलाइ दैनिक रुपमा सरकारले तोकेको ७० रुपैयाँ दिन शुरु गरिएको छ । एकमहिनाको एकमुष्ठ रकम उपलब्ध गराउन शुरु गरिएको सहायक प्रजिअ तिवारीले बताए । पूर्ण रुपमा बिस्थापितहरुको पुनःस्थपनाको बिषयमा छलफलहरु भइरहेको र दशै अगावै पुनःस्थापना गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।
स्थानीय तह र सरोकारवाला कार्यालयहरुलाई निर्देशन
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सबै कार्यालय प्रमुखहरुलाइ आफ्नो जिम्मेवारीमा पर्ने सक्ने र तत्काल गर्नुपर्ने कामहरु गर्नका लागि निर्देशन दिइएको छ । सडक तथा पुलपुलेसाहरु मर्मत तथा पुनर्निर्माण गरेर आवतजावतको समस्या हल गर्नका लागि निर्देशन दिइएको तिवारीले बताए । स्थानीय तहहरुले पनि सडक लगायतका भत्केका पूर्वाधारहरुलाई प्राथमिकतामा राखेर बनाइरहेको उनले जनाए ।
अत्यावश्यकीय सवारी साधन चल्ने गरी सबै भत्केका सडकहरु निर्माण तथा पुनर्निर्माण पहिलो चरणमा नै गर्ने र यस बिषयमा सम्बन्धित निकायहरुमा लेखेर पठाइसकिएको पनि तिवारीले जानकारी दिए । बाढीबाट धेरै क्षति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायतका मन्त्रीहरु समेत आएर बाढीले पुर्याएको क्षतिको बिषयमा जानकारी लिएको र प्रभावकारी रुपमा पुनर्निर्माण गर्न सरकारले सहयोग गर्ने आश्वासन दिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर