Aamsanchar

बाढी पीडित परिवारलाई प्रेस चौतारी झापाले प्रदान गर्यो राहत रकम

Author Image
बुधवार, भदौ १४, २०७४

गौरीगञ्ज, १४ भदौ ।  साउन अन्तिम साताको बाढीमा परी घरवारविहीन बनेका झापाका पीडित परिवारलाई प्रेस चौतारी झापाले राहत प्रदान गरेको छ ।

प्रेस चौतारी झापाले बाढी पीडितहरुलाई सहयोग गर्न संकलन गरेको ६७ हजार २ सय ८८ रुपैयाँ एमाले गौरीगञ्ज गाउँ कमिटीलाई हस्तान्तरण गरेको छ । संकलन भएको कुल रकम मध्ये काँकरभिट्टामा रहेको मेची नेत्रालय आँखा अस्पतालका कर्मचारी परिवारले एक दिनको पारिश्रमिक बराबरको रकम ५१ हजार २ सय ८८ रुपैयाँ सहयोग गरेको अस्पतालका निर्देशक डा. शरदचन्द्र राईले बताए । सोही अवसरमा अस्पतालका अप्रेशन इञ्चार्ज नवराज प्रधानले व्यक्तिगत ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । अस्पतालले प्रदान गरेको रकमको चेक डा. पर्शुराम भट्टराई र अपरेशन इञ्चार्ज नवराज प्रधानले प्रदान गरेका थिए । प्रेस चौतारी झापाले ११ हजार ५ सय रुपैयाँ संकलन गरेको थियो ।
चौतारी जिल्ला कमिटीले बुधबार गौरीगञ्ज गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम पार्टी नेतृत्वलाई हस्तान्तरण गरेको हो । एमाले केन्द्रीय कमिटीले १५ वटा जनवर्गीय संगठनलाई सर्कुलर गरी राहत संकलन गर्न भनेको थियो ।
चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलले संकलित राहत रकम एमाले क्षेत्र नम्बर ६ का क्षेत्रीय इञ्चार्ज योगराज दाहाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले संकलित राहत रकम वास्तविक बाढी पीडितलाई प्रदान गर्न जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिएका छन् । उनले पत्रकारहरुले गरेको यो सकारात्मक कार्यको खुलेरै प्रशंसा गरे । एमाले जिल्ला कमिटी सचिव अधिकारीले राहत संकलन अभियानको विषयमा जानकारी गराएका थिए ।
पार्टीका केन्द्रीय सदस्य तथा सांसद रविन कोइरालाले जनतालाई अफठ्यारोमा परेका बेला सवै तह र तप्काका वर्ग समुदाय मानवीय सेवामा सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला कमिटी सचिव मदन अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देल, एमाले झापाका प्रचार विभाग प्रमुख माधव बिद्रोही र एमाले क्षेत्र नम्बर ६ का क्षेत्रीय इञ्चार्ज योगराज दाहाल, गौरीगञ्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठलगायतले बोलेका थिए ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर