सुरुङ्गा।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको ११औं क्याम्पससभा सम्पन्न भएको छ ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष केदारप्रसाद गिरीको सभापतित्व र पूर्ववन तथा भू–संरक्षण राज्यमन्त्री वीरमणि ढकालको प्रमुख आतिथ्यमा भएको सभामा अध्यक्ष गिरीद्वारा बिगतको समीक्षा र भावी लक्ष्य समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथि ढकालले बिद्यार्थीले चाहेको विषय पढ्ने वातावरण निर्माण गर्न सुझावसहित शैक्षिक क्षेत्रमा राजनीतिक भागबण्डाले सकारात्मक परिणाम नल्याउने बताए । कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक टंकबहादुर कार्कीद्वारा क्याम्पसको शैक्षिक तथा प्रशासनिक प्रतिवेदन पेश गरिएको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष डिल्लीराम पौडेलद्वारा आ.व. २०७३÷०७४ को बजेट समीक्षा तथा आ.व. २०७४÷०७५ को अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।
कोषाध्यक्ष पौडेलले २ करोड ४२ लाख ५८ हजार ६ सय १२ रुपैयाँको आम्दानी तथा खर्चको विवरणको बजेट प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालक समितिको कार्यकाल २०६९ साल भदौ २३ गते शुरु भई लगभग ५ वर्ष पूरा हुन लागेको यो समयावधिमा विश्वविद्यालय अनुदान आयोगबाट ३ करोड ६ लाख ७२ हजार ९ सय ८८ रुपैयाँ २० पैसा आम्दानी भएको जानकारी दिए । उनले आ.व. २०७३÷०७४मा क्याम्पसको सञ्चालन नाफा १९ लाख रुपैयाँ रहेको बताए ।
त्यसैगरी लेखा समितिका सदस्य लीलाप्रसाद उप्रेतीले आन्तरिक लेखा परीक्षण प्रतिवेदनका टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए भने क्यूएए फोकल पर्सन उपप्राध्यापक विकासप्रसाद उप्रेतीले आ.व. २०७३÷०७४को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनहरु आवश्यक बहस र छलफलपछि पारित गरिएको सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँले जानकारी दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख कमल गुरागाँईले प्राध्यापकहरुले आत्मसम्मानपूर्वक काम गर्नुपर्ने बताए । कनकाई नगरमा क्रियाशील राजनीतिक दल, संघ–संस्था, विद्यालयका प्रतिनिधिहरुको आतिथ्य रहेको कार्यक्रममा क्याम्पस प्रमुख कार्कीले कार्यक्रमको औचित्यसहित स्वागत गरेका थिए ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वार्ड नं. ३का वार्ड अध्यक्ष रूद्रप्रसाद चिमरिया, कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष युवराज संग्रौला, पूर्व जनप्रतिनिधि भीमप्रसाद अधिकारी, राप्रपा कनकाई नगर अध्यक्ष ज्योतिकुमार उप्रेती, अनेरास्ववियू क्याम्पस अध्यक्ष नवीन राई, प्राध्यापक संघ सभापति हरिप्रसाद तिम्सिना, कनकाई माविका प्रअ निर्मलकुमार खतिवडा, सीतारमेश बहुमुखी क्याम्पस बुधबारेका क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदमप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त सभाले क्याम्पस सञ्चालक समिति, लेखा समिति र क्याम्पस सभाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा दीर्घबहादुर थापा, सूर्यकुमार थापा, इन्द्रबहादुर रोक्का सदस्यहरु तथा क्याम्पस प्रमुख कार्की सदस्यसचिव रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको सहायक क्याम्पस प्रमुख देवेन्द्रकुमार राईले जानकारी दिए ।
हाल क्याम्पस सभामा २ सय ३९ सदस्य रहेका छन् । जसबाट सञ्चालक समितिका १ अध्यक्ष, १ उपाध्यक्ष, १ कोषाध्यक्ष, ७ सदस्यहरु, ३ सदस्यीय लेखा समिति सदस्य र क्याम्पस सभाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन हुनेछ । उक्त सभाको दुवै सत्रको कार्यक्रमको सञ्चालन उपप्राध्यापक तीर्थराज खरेलले गरेका थिए ।