बिर्तामोड।
वीरता लेडी जेसीजको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वीरता लेडी जेसीजको आयोजनामा भएको जेसीज सप्ताह अन्तर्गत बुधबार उक्त प्रतियोगिता गरी जेसीज सप्ताह समापन गरिएको हो ।
झापाका सामुदायिक विद्यालयको सहभागितामा भएको माध्यमिक विद्यालयस्तरीय ‘शासन व्यक्तिको हो कि विधिको हुनुपर्छ ?’ भन्ने विषयक वक्तृत्वकलामा महेन्द्ररत्न माविकी ज्योति पाण्डे प्रथम, मोहनमाया माविकी सञ्जु तामाङ द्वितीय, महेन्द्ररत्न माविका सौगात शिवाकोटी तृतीय र देवी माविका निश्चल मैनाली सान्त्वना भएका थिए ।
प्रतियोगिताको निर्णायकमा केशव भट्टराई, देवी भण्डारी र गोपीकृष्ण खनाल रहेका थिए । वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक रिमा भट्टराईले स्वागत र अर्की कार्यक्रम संयोजक सुष्मा पौडेलले आस्था वाचन गरेका थिए ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की, वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बा, देवी भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिवकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव गोमा भट्टराईले गरेकी थिइन् ।