कविता
आमा, त्यो तिज,तिम्री छोरीलाई लिन आएका मेरा दाई
अनि उनको औंलो समाएर आएकी वहिनी तिम्रो ममतालाई थाम्न नसकेर हामफालेर घर छोडन तयार भएकी म
मायाले भिजेर निथ्रुक र लालायित थिँए वरपर राता सारी र छडके तिलहरी लाउनेहरुको भिडले म
मगमगाएर सुगन्धित भएकी थिँए किनभने तिज आएको थियो !
आमा, मलाइ थाहा छ,तिमी निर्मल छेउ तिम्रो तुलना म कोहि सँग गर्न सक्दिन
तर तिम्रै घरमा तिम्रै सन्तानहरु तिमीले पसिना काढेर पकाएको ढकने र खिर खाएर नमिठो डकार्दै थिए
तिम्रो पछ्यौरीमा सलाई कोरेर राग उछाल्दै थिए बेहोसीमा मातिएका तिम्रो एउटै लाम्टो चुसेका सन्तानहरु खोइ, कस्तो तिज मनाउदै थिए !
आमा, घरको धुरीबाट पतपति धुँवा निस्कदा मट्टीतेल खन्याउने तिम्रा सन्तानहरुलाई तिमी कति माया गर्छेउ हगी
मेरा बा, तिम्रा श्रीमान घरका मुली भएर पनि फगत रमिते मात्र बन्न सके सन्तानको मायामा
रक्ताम्मे भएर लतपतिएकी तिमी आवाज भएर पनि आवाज विहिन थियौ,
विक्षिप्त थियौ तिम्रै सन्तानहरु एकापट्टी खुशियाली साँट्दै थिए अर्कातिर त्यहि खुशी घिसार्दै थिए
अलमल्ल पाहुनाहरु तिजको रमिता हेर्दै थिए !
आमा, निरिह भएकी मैले तिम्रो आग्रहमा जतिपटक भवितव्य रोक्न खोंजे त्यतिपटक पछारिएर अब त उठन नसक्ने भएकी छु
वरण्डामा आँफै आची गरेर आँफै गन्हायो भन्ने तिम्रा सन्तानहरु आफ्नै सिकुवा खनेर घर पुर्ने तिम्रा सन्तानहरु तिम्रा वस्त्र उतारेर आफ्नो लाज छोप्ने तिम्रा सन्तानहरु के भनेर सम्बोधन गर्छेउ
तिमी, कुन ममताले सेक्छेउ तिमी …. कस्तो तिज आयो आमा !
आमा, यो तीजलाई तिम्रो क्यालेण्डर बाट सधैंलाई मिल्काउन मिल्दैन …. घर नै खरानी बनाउने तिज मलाई चाहिंदैन आमा !
]अब यो तीजलाई मैले कहिल्यै नखोल्ने गरि पोको पारेकी छु … चित्त दुखेका सन्तानहरु, मन फाटेका सन्तानहरु,
खुशीमा झुमेका सन्तानहरु आँफैले आफ्नो आत्मादह गरेको पत्तो हुन्छ कि हुँदैन ?
यसैगरी कालो इतिहास बनाएका तिमीहरुले सुनौलो इतिहास रच्ने कि नरच्ने ?
पोको पारिएकी तिज सोध्दैछिन ….! विक्षिप्त आमा सोध्दैछिन …..! आवाज विहिनहरु सोध्दैछन ……… !!