Aamsanchar

झापाका ८०% घरमा शौचालय

Author Image
शुक्रवार, भदौ १६, २०७४

(सुरेन्द्र भण्डारी/तुलसीप्रसाद निरौला)
झापा।

सन् २०१६सम्ममा नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य रहेको थियो । तर, सरकारले सन् २०१७ सम्ममा पनि लक्ष्य पूरा गर्न सकिरहेको छैन । नेपालका ४१ जिल्ला मात्रै अहिले खुल्ला दिसामुक्त घोषणा भएका छन् भने दर्जनको हाराहारीमा घोषणाको तयारीमा छन् ।
सरकारले तोकेको लक्ष्य निर्धारण गर्न झापामा पनि कठिनाई देखिएको छ । झापाको १५ स्थानीय तहमध्ये हालसम्म एउटा मात्र तह खुल्ला दिसामुक्त घोषणा भएको छ । सरकारको लक्ष्य प्राप्तिका लागि झापामा विभिन्न कार्यक्रम सञ्चालन गरे पनि अझै २० प्रतिशत घरमा शौचालय छैनन् ।
२०७४ मंसीर मसान्तभित्र जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य छ । यो लक्ष्य प्राप्तिका लागि विभिन्न कामहरु भइरहेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाको पछिल्लो तथ्यांक हेर्ने हो भने बुद्धशान्ति गाउँपालिका मात्र खुल्ला दिसामुक्त गाउँपालिका घोषणा भएको छ । बाँकी १४ वटा स्थानीय तहलाई खुल्ला दिसामुक्त गर्न सकिएको छैन ।
झापामा १ लाख ८१ हजार ७ सय ९७ घरपरिवारमध्ये १ लाख ४५ हजार ८ सय २ घरमा मात्र शौचालय छन् । अझै ३५ हजार ९ सय ९५ घरमा शौचालय नभएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यसअघि जिल्लालाई खुल्लादिसामुक्त बनाउनका लागि ६ वटा विभिन्न संघ–संस्थासँग साझेदारी गरेर कार्यक्रम अघि सारिएको थियो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले झापालाई खुल्ला दिसामुक्त बनाउन सहारा नेपाल, बिराट सामुदायिक अध्ययन केन्द्र, सगरमाथा सामुदायिक विकास केन्द्र, मानव विकास केन्द्र, भद्रपुर नगरपालिका र अर्जुनधारा नगरपालिकासँग साझेदारी गर्दै कार्यक्रम सञ्चालन गरेको थियो ।
सरसफाई प्रबद्र्धनका लागि राष्ट्रिय सरसफाई गुरुयोजना २०६८ले निर्धारण गरेका मापदण्ड तथा लिएका नीतिहरुलाई मूल आधारमानी रणनीतिक योजना तयारी पारेको र सोही अनुसार काम भइरहेको बताइएको छ ।
कुन स्थानीय तहमा कति शौचालय ?
मेचीनगर नगरपालिकाका २५ हजार ७ सय ६३ घरधुरीमध्ये २२ हजार १ सय १६ घरधुरीले शौचालय बनाएका छन् भने अझै ३ हजार ६ सय ४७ परिवारको शौचालय छैन । सरकारको लक्ष्य पूरा गर्न यहाँ १५ प्रतिशत घरमा शौचालय निर्माण गर्नुपर्ने देखिन्छ । जहाँ सरकारको लक्ष्य अनुरुप ८५.८४ प्रतिशतले शौचालय बनाएका छन् ।
अर्जुनधारा नगरपालिकाको १३ हजार ५० घरधुरीमध्ये १२ हजार ४ सय ५३ घरमा शौचालय छ । अर्जुनधारा गाउँपालिकाको ५ सय ९७ घरमा अझै पनि शौचालय छैनन् । तथ्यांक अनुसार अर्जुनधारा नगरपालिकाले ९५.४३ प्रतिशत लक्ष्य पूरा गरेको छ । यो नगरपालिका खुल्ला दिसामुक्त नगरपालिका घोषणाको तयारीमा छ ।
बिर्तामोड नगरपालिकाको १७ हजार ७ सय ७८ घरपरिवारमध्ये १५ हजार २ सय ९५ घरमा शौचालय छ भने २ हजार ४ सय ८३ घरमा अझै पनि शौचालय छैन । सरकारको लक्ष्य अनुरुप यहाँ ८६.३ प्रतिशत घरले शौचालय बनाएका छन् ।
भद्रपुर नगरपालिकाको १४ हजार ६ सय १५ घरमध्ये ११ हजार ७ सय ९९ घरमा शौचालय छ । भद्रपुरका अझै २ हजार ८ सय १६ घरपरिवार शौचालयविहीन छन् ।
कनकाई नगरपालिकाको ९ हजार २ सय ३७ घरपरिवारमध्ये ८ हजार १ सय ५६ घरमा शौचालय छ । अझै १ हजार १ सय १७ घरमा शौचालय छैन ।
शिवसताक्षी नगरपालिकाका १४ हजार ८ सय १९ घरमध्ये १२ हजार ४ सय २८ घरमा शौचालय छ भने सो नगरपालिकाका २ हजार ३ सय ९१ परिवार शौचालयविहीन छन् ।
दमक नगरपालिकाका ७ सय ७१ घरमा शौचालय छैन । दमक नगरपालिकाको १५ हजार ४ सय २४ घरमध्ये १४ हजार ६ सय ५३ घरमा शौचालय छ ।
गौरादह नगरपालिकामा १२ हजार १ सय ४८ घरपरिवारमध्ये ७ हजार ८ सय ७९ घरमा मात्र शौचालय छ । अझै ४ हजार २ सय ६९ परिवार यो नगरपालिकामा शौचालयविहीन छन् ।
झापा गाउँपालिकाको ७ हजार २ सय २९ परिवारमध्ये ३ हजार छ सय १६ परिवारमा मात्र शौचालय छ । अझै ३ हजार ७ सय १३ परिवारमा शौचालय छैन ।
कचनकवल गाउँपालिकामा ९ हजार ६६ घरपरिवारमध्ये ३ हजार ६ सय ५४ परिवारमा मात्र शौचालय छ । सो गाउँपालिकाका ५ हजार ४ सय १२ घरपरिवार शौचालयविहीन छन् ।
हल्दिबारी गाउँपालिकामा ६ हजार ५ सय ४७ घरपरिवारमध्ये ६ हजार ४ सय ४६ परिवारले शौचालय बनाएका छन् । यो गाउँपालिकामा १ सय १ घरपरिवारमात्र शौचालयविहीन छन् । हल्दिबारी गाउँपालिकाले ९८.४६ प्रतिशत लक्ष्य पूरा गरेको र खुल्ला दिसामुक्त गाउँपालिका घोषणाको तयारीमा रहेको बताइएको छ ।
बाह्रदशी गाउँपालिकाको ७ हजार ९ सय ७२ घरपरिवारमध्ये ५ हजार ६ सय ५० परिवारले मात्र शौचालय बनाएका छन् । सो गाउँपालिकामा अझै २ हजार ३ सय २२ परिवार शौचालयविहीन छन् ।
त्यस्तै कमल गाउँपालिकाका १० हजार ५ सय ५१ घरपरिवारमध्ये ९ हजार ७८ परिवारले मात्र शौचालय बनाएका छन् भने अझै १ हजार ४ सय ७३ परिवार शौचालयविहीन छन् । गौरीगञ्ज गाउँपालिकामा ८ हजार ३ सय ४६ परिवार बसोबास गर्छन् । जसमा ३ हजार ४ सय ६३ घरपरिवारले शौचालय बनाएका छन् भने अझै ४ हजार ८ सय ८३ घरपरिवारले शौचालय बनाएका छैनन् ।
समग्रमा झापा जिल्लाका १ लाख ८१ हजार ७ सय ९७ घरपरिवारमध्ये १ लाख ४५ हजार ८ सय २ घरपरिवारले शौचालय बनाएका छन् भने ३५ हजार ९ सय ९५ घरपरिवार शौचालयविहीन छन् ।
जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको तयारीका लागि बिर्तामोडमा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको सहारा नेपालका एलवी गिरीले जानकारी दिए ।
स्थानीय विकास अधिकारी खेमराज ओझाको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भीम नेम्वाङ, महासंघका उपाध्यक्ष एकराज गिरी, केन्द्रीय पार्षद गोपाल गिरी लगायतले बोलेका थिए ।कार्यक्रमको सञ्चालन रुद्र न्यौपानेले गरेका थिए ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर