दमक।
शहरी बिकास मन्त्रालयमार्पmत विश्क बैंकले लगानी गर्ने योजनाहरुको बिषयमा प्रदेश नम्बर १का चारवटा नगरपालिकाहरुमा योजना छनौट गरिरहेको छ ।
झापाको दमक र बिर्तामोड साथै मोरङको उर्लाबारी र कोशीहरैंचा नगरपालिकाको भौतिक पूर्वाधार बिकासमा लगानी गर्नको लागि योजनाहरुको अध्ययन भइरहेको अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिए ।
चारवटा नगरपालिकाका योजनाहरुको आफूहरुले अध्ययन गरिरहेको भन्दै टोली प्रमुख लालले चारैवटा नगरपालिकामा यो बर्ष कम्तीमा पनि तीन–तीनवटा योजनाहरु पर्न सक्ने बताए । एउटा नगरपालिकामा डेढदेखि दुई अर्बसम्मका योजनाहरु पर्ने गरी योजनाहरुको अध्ययन गरिरहेको लालले जानकारी दिए । योजना छनौट भइसकेपछि यो बर्ष योजनाको डीपीआर तयार गरी अर्को बर्षदेखि काम शुरु गर्ने उनले बताए ।
नगर प्रमुखहरुले चर्चामा आउन पाँच अर्ब र दश अर्बका योजना ल्यायौं भने पनि पहिलो बर्षमा डेढदेखि दुई अर्बसम्मका योजनाको डीपीआर तयार हुने उनले बताए । दमक नगरपालिकाका इञ्जिनियर भीम पौडेलले आफूहरुले शिक्षा, स्वास्थ्य र नदी नियन्त्रणका योजनाहरु पेश गरेको पौडेलले जानकारी दिए ।
यसैबीच दमक नगर बिकास समितिका अध्यक्ष पर्शुराम रिजालले भने आफूलाई योजनाको बिषयमा कुनै जानकारी नभएको बताएका छन् । शहरी बिकास मन्त्रालय अन्तर्गत आउने योजनाहरुको बारेमा आफूलाई पनि जानकारी हुनुपर्ने भन्दै उनले नगरपालिकाले समितिसँग कुनै सल्लाह र छलफल नगरेको बताए ।