बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेका बडकलाल गणेश नाम चलेका ठेकेदार हुन् ।उनले २०४८ सालबाट राजमिस्त्री हुँदै ठेकेदारी पेसा अँगाले । राजमिस्त्रीबाट काम गर्दागर्दै उनले बिर्तामोडमा दर्जनौं घरहरु बनाए । पाँच वर्षसम्म राजमिस्त्री गरेका उनी बिर्तामोड क्षेत्रकै लोकप्रिय र सिपालु ठेकेदारको रुपमा कहलिए । सबैको रोजाइमा परेका गणेश अहिले सो पेशाबाट बाहिरिएका छन् । झण्डै दुई वर्ष अघिबाट उनले जीवन धान्न रिक्सा चलाउनु परेको छ ।
मासिक ३० हजारभन्दा बढी रुपैयाँ बचत गर्दै आएका गणेश अहिले मुस्किलले दिनको पाँच सय कमाउँछन् । छ जनाको परिवार रिक्सा चलाएर पालेका छन् । उनले ठेकेदारी पेसा छोडेपछि ‘सेकेण्डहेण्ड’ सिटी रिक्सा किनेर अहिले बिर्तामोडको सडकमा कुदाउँछन् । झण्डै एक वर्षसम्म बेरोजगार बसेका उनले ७० हजारमा सिटी रिक्सा किनेका हुन् । सो सिटी रिक्सा नै उनको अहिले जिउने सहारा बनेको छ । ३० देखि ३५ जनासम्म मिस्त्रीलाई दैनिक रोजगारी दिनसक्ने ठेकेदार गणेश अहिले आफैं रोजगारीको खोजीमा भांैतारिरहेका छन्, कारण हो– भारतीय ठेकेदारहरु । उनीहरु गैरकानूनी रुपमा अहिले ठेकेदारी गरिरहेका छन् ।
भारतबाट आएका मिस्त्रीले सस्तोमा काम गर्न थालेपछि यहाँका अधिकांश ठेकेदार र मिस्त्री बेरोजगार बनेका हुन् । उनीहरुको रोजीरोटी गुमेपछि उनीहरु अहिले बाँच्नका लागि विभिन्न पेशा व्यवसाय अँगाल्न बाध्य भएका छन् । बडकलाल गणेश मात्र होइन त्यहाँका झण्डै ३० भन्दाबढी ठेकेदारले पेशा परिवर्तन गर्दै सिटी रिक्सा कुदाउन थालेका छन् । बिर्तामोडमा झण्डै चार–पाँच हजारको संख्यामा निर्माण कार्यमा संलग्न मजदुर छन् । उनीहरु सबै रोजगारीको खोजीमा अहिले भौंतारिरहेका छन् । भारतबाट आएका अधिकांश मिस्त्री, कामदार र ठेकेदारले निर्माणसँग सम्बन्धित काम गर्न थालेपछि यहाँका ठेकेदार र मिस्त्री बेरोजगार बनेका हुन् ।
नेपाल निर्माण श्रमिक संघ क्राउनमा आबद्ध एक हजारभन्दा बढी ठेकेदार र मिस्त्री छन् तर ती सबै बेरोजगारको अवस्थामा पुगिसकेका छन् । संघका सन्तोष राजवंशीले भने– भारतीय मजदुरका कारण नेपालका मजदुर र ठेकेदार विस्थापित बन्नु परेको छ । एउटा मिस्त्रीले दैनिक ज्यालादारी गर्दा आठ सयदेखि साढे नौ सय रुपैयाँसम्म पाउँछ । तर, भारतबाट आएका मिस्त्रीले त्यो भन्दा सस्तो काम गर्ने भएपछि महंगीका कारण यहाँका ठेकेदारले बाध्य भएर काम छोड्नुपर्ने अवस्था आएको छ– राजवंशीले भने ।
भारतबाट आएका बंगालीले काममा नलगाउने, लगाए पनि कम ज्याला दिने गर्दा ठेकेदार मात्र होइन मजदुर समेत मारमा परेका छन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि सरकारले ठेकेदार र मजदुरलाई तालिम दिएको छ, घरनक्सा पास गर्दा यो कुरा नगरपालिकाले हेर्छ । तर, सर्टिफिकेट नभएका भारतीय मजदुरलाई कसरी घर निर्माणका लागि अनुमति दिइन्छ, हामी आफंै अचम्ममा परेका छौं– उनले भने । अधिकांश भारतबाट आउने लेवर राम्रोसँग इँटा समेत जोड्न जाँन्दैनन् ।

तर, यहाँका तालिम प्राप्त मिस्त्रीले घर बनाउँदा नराम्रो बनाउँछ भन्दै उनीहरु नै जनमानसमा भ्रम छर्दै हिँड्छन्– ठेकेदार राजवंशीले भने । यहाँका ठेकेदारलाई सरकारले करको दायरामा ल्याएको छ, यो स्वागतयोग्य कदम हो । तर, भारतबाट खुलेआम आउने ठेकेदार र मजदुरले न त कर तिर्नुपर्छ, न त कुनै शुल्क नै । उनीहरुले मनोमानी घर निर्माण गर्दा यहाँका अधिकांश ठेकेदार र निर्माण व्यवसायी वेरोजगार हुँदै पेशा परिवर्तन गर्न बाध्य छन्– राजवंशीले भने ।
चारपानेका गणेशले धेरैलाई यो पेशा अँगाल्न लगाए । भांैतारिएर हिँड्ने अधिकांश साथीसंगीलाई समेत ठेकेदार बनाएका गणेश अहिले आफैं रोजगारीको खोजीमा छन् । आफ्नो ऊर्जाशील समय यही पेशामा बित्यो । अब नयाँ पेशा अँगाल्न पनि सकिँदैन, त्यसैले बाध्य भएर सिटी कुदाउँदैछु– उनले भने । नेपाल निर्माण श्रमिक संघ क्राउनका अध्यक्ष सम्फी दासले भारतीय ठेकेदार र मजदुरका कारण नेपाली ठेकेदार र मजदुर बिस्थापित हुँदा समेत नियमनकारी निकायले आफूहरुको कुरा नसुनेको आरोप लगाएका छन् ।
नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाले आफ्नो कुरालाई बेवास्ता गरेको उनको भनाइ छ । निर्माणसँग सम्बन्धित क्युपेक र क्राउनका मजदुरलाई नगरपालिकाले तालिम दिनुपर्ने हो तर ठेला कुदाउने र गिटी कुट्नेलाई भेला पारेर नगरपालिकाले तालिम दिन्छ –उनले भने– जसकारण पनि हामीहरु मारमा परेका छौं ।
नगरपालिकाले नै उपेक्षा गरेका कारण आफूहरु पेशाबाट विस्थापित हुनु परेको उनको आरोप छ । नगरपालिकामा डेलिगेशन लिएर आफूहरु दशौंपटक जाँदा पनि नगरपालिकाले आफ्नो कुरा नसुनेको दासले बताए । बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले भारतीय नागरिकले नेपालमा आएर घर बनाउन कानूनमै बर्जित भएको बताएका छन् ।

नगरपालिकासँग कुनै पनि कुराको रेकर्ड नभएका कारण यो वा त्यो भनेर छुट्याउन नसकेकाले यस्तो समस्या आएको हो उनले भने । सबै कुराको रेकर्ड तयार पार्दै आइडी गार्ड बितरण नगरुञ्जेलसम्म यो समस्याले नगरपालिकालाई नछाड्ने र सबै कुराको रेकर्ड तयार पारेपछि मात्रै यसको दीर्घकालीन समाधान हुने उनको भनाइ छ ।
बिर्तामोडमा निर्माण भइरहेका अधिकांश घर नेपाली ठेकेदारले जिम्मा लिएको र उनीहरुकै हस्ताक्षरबाट भारतीय ठेकेदारलाई जिम्मा लगाएको उनले बताए । यसो गर्दा यहाँकै दाजुभाइ मारमा परेका छन्, हामीले त्यसलाई बुझेका छौं । तर, राज्यबाट कानून बनेर नआएकाले हामीले यसै भन्न सक्ने अवस्था छैन– शिवाकोटीले भने ।
गैरकानूनी रुपमा भारतबाट आएका ठेकेदारको काम मौलाउनुको पछाडि नगरपालिकाका इञ्जिनियरहरुको हात रहेको स्थानीय ठेकेदारहरुको गुनासो छ । मोटो कमिशनको लोभमा इञ्जिनियरले त्यस्तो कामको स्वीकृति दिने गरेको बताइएको छ ।

