Aamsanchar

स्वास्थ्य चौकी बुधबारेको बार्षिक समिक्षा सम्पन्न

Author Image
मङ्गलवार, भदौ २०, २०७४

[अनिल वाग्ले]
बुधबारे, 


स्वास्थ्य चौकी बुधबारेको आ.व २०७३।०७४ को बार्षिक समिक्षा गोष्ठी मंगलबार सम्पन्न भएको छ । संस्थाका व्यवस्थापन तथा संचालन समिति अध्यक्ष मोहन आचार्यको सभापतित्वमा भएको समिक्षा गोष्ठीमा स्वास्थ्य चौकी बुधबारेका इन्चार्ज भोलानाथ अधिकारीले आ.व. ०७३।७४ को बार्षिक गतिविधि प्रस्तुत गरेका थिए । सो अवसरमा अधिकारीले आर्थिक अभाव र राज्यले प्रदान गर्ने औषधीको प्रयाप्तता नहुँदा सेवाग्राहीले पाउने सेवा पनि सोचे अनुरुप लिन नपाइरहेको बताए ।
राज्यले उपलब्ध गराउने औषधी पनि नियमित रुपमा प्राप्त नहुँदा तथा प्रयोगशाला नहुँदा सेवालिन आउने विमारीलाई अन्यत्रै जानु भनेर भन्नु परिरहेको भन्दै इन्चार्ज अधिकारीले स्थानीय जनप्रतिनिधिहरुलाई स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गरिदिन अनुरोध गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका केशव सापकोटाले अतिविपन्न वर्गले सेवा लिने यस स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन जनप्रतिनिधिको दायित्व रहेको भन्दै बुद्धशान्ति गाउँपालिकाले यस विषयमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका १ का वडाध्यक्ष भिमकुमार नेवार र वडा नम्बर २ का वडाध्यक्ष दिलिप श्रेष्ठले आफूहरु जनताको प्रतिनिधि भएको र स्वास्थ्य जस्तो संवेदनशिल कुरामा आफूहरु गम्भिर बनेको बताएका थिए । उनीहरुले आफ्नो वडा तथा गाउँपालिका नै स्वास्थ्य चौकी बुधबारेको सेवा प्रभावकारी बनाउने कुरामा लागि पर्ने र त्यसका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका सभापति आचार्यले यस स्वास्थ्य संस्थाले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि अत्यन्त्यै न्यून बजेटमा केही योजना तथा कार्यक्रम ल्याएको बताउँदै सो बजेट उपलब्ध गराउन जनप्रतिनिधिसँग आग्रह गरेका छन् ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेती, गाउँसभा सदस्य भगवती न्यौपाने, प्रहरी सेवा केन्द्र बुधबारेका अध्यक्ष मनोरथ तिवारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा संञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर