काठमाडौँ ।
नेपाल मुक्तक प्रतिष्ठानले बाढीपीडित जनताका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमार्फत सहयोग गरेको छ । प्रतिष्ठानले यही भदौ १६ गते काठमाडौँमा आयोजना गरेको मुक्तक मेलाबाट उठेको रु एक लाख २५ हजार आज प्रधानमन्त्री दैवी प्रकोप कोषलाई हस्तान्तरण गरेको हो ।
उक्त रकम मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्नुभएको छ । सो कार्यक्रममा प्रधानमन्त्री देउवाले देश विपत्तीमा परेको बेला साहित्यकारले गरेको सहयोग निकै प्रशंसनीय भएको बताउनुभयो । उहाँले प्रतिष्ठान परिवारलाई बधाई तथा धन्यवादसमेत दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष कोनेले देशमा आइपरेका विपद्का घटनामा प्रतिष्ठानले स्थापनाकालदेखि नै सहयोग गर्दे आइरहेको बताउनुभयो ।
प्रतिष्ठानले विसं २०७० मा सुदूरपश्चिमको बाढीपीडितलाई रु एक लाख सात हजार, सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट पीडित विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, विसं २०७२ मा गएको विनाशकारी भूकम्पमा रु तीन लाख बराबरको सहयोग गरेको महासचिव रमेश पौडेलले जानकारी दिनुभयो ।