Aamsanchar

सतासीधामको अस्तित्व संकटमा

Author Image
बिहिवार, भदौ २२, २०७४

दमक।

झापाको शिवसताक्षी नगरपालिका मा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सताक्षीधाम क्षेत्रभित्र रहेका बिभिन्न संरचनाहरु संकटमा परेका छन् ।
लगातरको बर्षापछि आएको बाढीका कारण यहाँका ऐतिहासिक धार्मिक महत्व बोकेका संरचनाहरु भत्काउन थालेपछि सताक्षीधामको अस्तित्व नै संकटमा पर्न थालेको छ । त्यहाँ रहेका साधुसन्तहरुका अनुसार खोलाले जमिन कटान गर्दा सताक्षीधाम परिसरमा रहेको हरिवेद विद्यालय र मठमन्दिहरु संकटमा परेको छ ।
सताक्षी खोलाको शीर छाँगामा अवस्थित पञ्चमुखी शिवको मन्दिरमा प्रतिस्थापित मूर्ति खोलाले बगाए पनि अहिलेसम्म संरक्षणमा कसैको ध्यान गएको छैन ।

खोलाको दुबैपट्टीको भागमा पहिरो गएकाले सताक्षीधामको आकर्षण मानिएका गुफा, बीरेनूनको स्वाद र बासना भएको नुनिलो पानी तथा देवी, देवताका र नागका आकृतिसहितका शीलाहरु पुरिएको अवस्था रहेको स्थानीय पत्रकार सरोज भट्टराईले बताए । उनका अनुसार यहाँका ऐतिहासिक धरोहरहरु नै संकटमा परेको पाइए पनि अहिलेसम्म कसैको ध्यान नगएको देखिएको छ ।
खोलाको माथिल्लो भाग झरनासम्म जाने बाटोसमेत भत्किएकाले भक्तजनहरुलाई दर्शन गर्न जान सक्ने अवस्था नरहेको धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताए । उनले भने–‘धाम क्षेत्रभित्र ठूलो क्षति भएको छ, खानेपानीको पाइप समेत खोलाले बगाउँदा धामबासीलाई पानी पीउन नै समस्या परेको छ ।’
यसैगरी स्थानीय सतासी खोलाको कटानका कारण यहाँ रहेका संरचनाहरुमा क्षति पुगेको हो । साउन अन्तिम साताको बाढीले ६ लाख रुपैयाँको लगानीमा बनाएको गाईगोठ लगायतका पुराना संरचनाहरुमा क्षति पुगेको गोवद्र्धन गौशालाका अध्यक्ष नन्दकिशोर भारद्वाजले बताए । अहिले कटान तीव्र भइरहेको उनले बताए ।
बिरामी तथा अलपत्र परेका गाईहरु पालन गर्नका लागि बनाइएको गाईगोठ र गाईका लागि राखिएको पराल समेत बाढीले बगाउँदा अहिले समस्या आएको भारद्वाजले बताए । गौशालामा गाई, गोरु, बाच्छा–बाच्छी गरी २ सय चौपाया रहेको जनाइएको छ । गाईवस्तुका लागि खुवाउन ल्याइएको १ लाख ५० हजार मूल्यको ४० ट्याक्टर परालको कुन्यू पनि खोलाले बगाएपछि समस्या उत्पन्न भएको उनले बताए ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर