डाँगीवारी।

झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ ।बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो ।

केही समय अघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई विक्री गर्ने गरिएको थियो । सो कार्य भने अहिले स्थानीयवासीको चर्काे विरोधपछि रोकिएको छ । तर, निजी जग्गाको माटो कटान गरेर बिक्री गर्दा भूक्षय हुन सक्ने भन्दै स्थानीयबासीले बिरोध जनाइरहेका छन् ।
माटो दिनानुदिन कटान गरेर विक्री गर्दा अग्लो डाँडो भत्कने भन्दै त्यस्तो कार्य रोकिनुपर्ने बताउँछन्– गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका अध्यक्ष मधुराम पनेरु ।समुद्र सतहबाट तीन सय मिटर उचाइमा रहेको कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवम् श्रीकृष्णकोसमेत मन्दिर रहेको छ । यहाँ प्रत्येक वर्ष शिवरात्री, बालाचतुर्दर्शी मेला लाग्ने गर्दछ ।

अग्लो भू–भागमा मठ मन्दिर रहेको र वरिपरिको जमिन कटान गरेर माटो बिक्री गर्दा टापुमा परिणत भएको कञ्चनगढ आसपासको जमिन भत्किन थालेपछि मन्दिर र अन्य पूरातात्विक सम्पदाको विनाश हुने भन्दै बाह्रदशी आसपासको जमिन कटान बन्द गर्नु पर्ने माग गर्दै सर्वसाधारणले वाह्रदशी गाउँपालिकालाई ज्ञापन–पत्र वुझाएका छन् ।
महाभारतको बिराट पर्वमा, श्रीस्वस्थानी ब्रतकथा र श्रीमद्भागवतको अष्टम स्कन्धमा यहाँको चर्चा भएको पाइन्छ । जस अनुसार समुद्र मन्थनको क्रममा भगवान शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्यपतन हँुदा उक्त स्थानको निर्माण भएको र वीर्यपतन सँग–सँगै सुनचाँदी, हीरामोती आदि समेत पतन भएको किम्बदन्ती रहेको यस स्थानमा वि.स.१९९० तिर एक साधुले कुटी बनाएर बसेकाले यस स्थानलाई साधुकुटी समेत भन्ने गरिएको छ ।
साधुकुटी नामले परिचित यो स्थान वरिपरिको माटो कटान गर्दै त्यहाँ आसपास रहेका इँटाभट्टालाई माटो विक्री र खोला बन्द हुँदा त्यहाँको माटो पुरुवाका लागि समेत विक्री हुने गरेको अध्यक्ष पनेरुले बताए । दैनिक दर्जन बढी टिपरले यहाँको माटो कटान गर्दै अन्यत्र लैजाँदा ऐतिहासिक महत्व बोकेको यो स्थान अस्तित्व संकटसँगै कुरुप हुँदैछ– अध्यक्ष पनेरुले भने ।
साधुकुटीमा गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रम समेत निर्माण गरिएको छ । यहाँ आवाससहितको वटुकका लागि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । जनस्तरबाट आर्थिक स्रोत जुटाएर लामो समयदेखि यहाँ वटुकलाई राखेर शिक्षा प्रदान गरिँदै आइएको छ ।
यहाँको अर्काे विशेषता भनेको गौरीशंकर शिवालय मन्दिरकै छेउमा झण्डै दुई सय बर्ष पुरानो एक वृक्ष छ । हाँगाबाट जरा पलाएर सो वृक्ष झाङ्गिएको छ । व्रम्हानिष्ट १००८ स्वामी डा. रामानन्द गिरी जस्ता विद्धानले पदार्पण गरेको यस स्थान तीन विगाह १८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । १८औं शताब्दि तिर यो स्थान पत्ता लगाएका एक साधुले अलौकिक वृक्षको फेदमा त्रिशुल गाडी धुनी जगाइ वसेको वृक्ष अझै पनि रहेको मानिँदै आएको छ ।
वि.सं. १९९३ सालमा नापी भएपछि ठाना र बजारको समेत यहाँ व्यवस्था थियो । तर, २००७ सालको क्रान्तिपछि यहाँका कार्यालयहरु सारिएका थिए । ऐतिहासिक र पौराणिक महत्व बोकेको यो ठाउँको माटो दिनानुदिनको कटानले गर्दा वातावरणमा समेत असर परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले यो स्थानको संरक्षका लागि जुटिदिन सबैलाई आग्रह समेत गरेका छन् ।

