काठमाडौँ।

विभिन्न कारणले आत्महत्या गर्ने घटनामा वृद्धि हुन थालेको नियन्त्रणका लागि सबैले यसबारे खुलेर कुरा गर्नुपर्नेमा जोड दिइएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा कोशिश नामक संस्थाले यहाँ आयोजना गरेको कार्यक्रममा आत्महत्याबारे खुलेर कुरा नहँुदा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको बताइएको छ ।
कोशिशका कार्यक्रम अधिकृत लक्ष्मण नाथले १५–२९ उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहेको पाइन्छ तर यो समस्या कडा खालको नभएर सामान्य समस्या पनि हुन्छ, जसमध्ये ६० प्रतिशत डिप्रेसनका कारणले भएको अनुसन्धानले देखाएको छ ।”

बेलायतका परामर्शदाता एडिसन आस्तुडिल्लोले आत्महत्याबारे कुरा गरे व्यक्तिलाई आत्महत्या गर्न उत्पेरित हुन्छ भन्ने भ्रम रहेको बताउँद ै खुलेर आपसमा कुरा गरेमा नियन्त्रणमा मद्दत पुग्ने बताउनुभयो ।
उहाँले नेपालजस्तो सानो देशमा वर्षमा करिब पाँच हजार व्यक्तिले आत्महत्या गर्नु दुःखद् भएको बताउँदै भन्नुभयो, “प्रत्येक २० जना व्यक्तिमा एक जनाले आत्महत्या गर्नेबारे सोचिरहेका हुन्छन्, त्यसैले हामीले आपसमै कुरा गरी यसको नियन्त्रणका लागि किन पहल नगर्ने ?”
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन् । कार्यक्रम अधिकृत नाथका अनुसार सन् २०१२ मा विश्वभर भएको आत्महत्यामध्ये ७६ प्रतिशत निम्न तथा मध्य आय भएका राष्ट्रमा हुने गरेको पाइएको थियो, जसको ३९ प्रतिशत दक्षिणपूर्वी एशियामा भएको थियो । विश्वमा हुने मृत्युको पन्ध्रौँ कारण आत्महत्या मानिन्छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका अनुसार २०७२÷०७३ को तथ्यांकमा नेपालमा चार हजार ६९५ आत्महत्याका मुद्दा दर्ता भएका छन् । आत्महत्या गर्नेमा दुई हजार ४६८ पुरुष र दुई हजार ६२ महिला तथा ८७ बालिका र ८८ बालक छन् ।
विसं २०६८ मा आत्महत्याको संख्या तीन हजार ९१८ रहेकामा २०७३ मा बढेर चार हजार ६९४ पुगेको छ । सो संख्या प्रहरीमा दर्ता भएको मात्र हो । म्याटर्नल मोर्टालिटी एन्ड मर्बिडिटी स्टडी, २००८–९ले गरेको अध्ययननुसार प्रजनन उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको छ ।
यही भदौ २५ गते विश्वभर पन्ध्राँै ‘आत्महत्या रोकथाम दिवस’ मनाइँदै छ । यस वर्षका लागि ‘जीवन परिवर्तनका लागि एक मिनेट’ नारा तय गरिएको छ । कोशिशका अध्यक्ष मातृका देवकोटाले आत्महत्या गम्भीर विषय भएकाले रोकथामका लागि रणनीति बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै भन्नुभयो, “आत्महत्या रोकथाम गर्न सकिने समस्या भएकाले हामीले केही समय मात्र छुट्यायौँ भने पनि धेरै व्यक्तिलाई आत्महत्या गर्नबाट जोगाउन सक्छौँ । यसका लागि आत्महत्याको जोखिमका तत्व, खतराका सूचक तथा रोकथामबारे सही जानकारी जनमानसमा पुग्नु आवश्यक छ ।”

