Aamsanchar

पोके व्यापारीसँग घुस लिन्छन् भन्सार कर्मचारी

Author Image
आइतवार, भदौ २५, २०७४

काँकरभिट्टा।

मेची भन्सार कार्यालय काँकरभिट्टाले भन्सार चुहावट नियन्त्रण गर्न खटाएका कर्मचारीले खुलेआम रकम असुली गर्ने गरेको रहस्य बाहिर आएकोे छ ।
भन्सारले प्रबेशद्वारमा सीसी क्यामेरा जडान गरे पनि अबैध रुपमा कर्मचारीले पैसा लिने गरेको भन्सार प्रमुखले देखेका छैनन् । प्रमुखकै कोठामा निगरानीका लागि भनेर कम्युटर राखिएको छ । तर, प्रमुखलाई यो हेर्ने फुर्सद नै छैन कि देखेर पनि नदेखेझंै गरिराखेका छन् ।

बीच सडकमै चेकजाँचका नाममा कर्मचारीले सर्वसाधारण र पोके व्यापारीसँग मनलागी रकम लिएर छोडिदिने गरेको प्रमाण फेला परेको छ । मेची भन्सारका कर्मचारीहरुले सडकमा खुलेआम घुस लिने क्रम पछिल्लो समय चाडपर्व नजिकिएसँगै झनै मौलाएको छ । पैसा लिएको बिषयमा ६ जना कर्मचारी कारवाहीमा परेको २ महिना नबित्दै अर्को रहस्य बाहिर आएको हो ।
भारतको पानिट्याङ्की गएर दैनिक उपभोग्य बस्तु खरिद गरी फर्किएकादेखि व्यापारीसँग भन्सार कर्मचारीले रकम असुल्दै आएका छन् । यसरी रकम असुल्नेहरुमा रामहरि खतिवडा, लरखर धिमाल, जयकुमार राई, ईश्वरचन्द्र कट्टेल, रामबहादुर श्रेष्ठ रहेका छन् । उनीहरुले भन्सार गेटमा खडा गरिएको चेकपोष्टमा बिल पास, चेकजाँच गर्ने बहानामा साना व्यापारी र सर्वसाधारणसँग रकम लिने गरेको हुन् ।

पानीट्याङकीबाट व्यापारीले नेपाल ल्याउने चिनी, दाल, तरकारी, तेल, लगायतका सामानको बिल चेक गर्ने वहानामा तथा सर्वसाधारणसँग ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म तिर्न बाध्य बनाउने गरेको उनीहरुको गुनासो छ । घरायसी उपयोगका लागि ल्याएको सामान छुटाउन आफूले पैसा तिर्नु परेको स्थानीय एक महिलाले नाम नबताउने शर्तमा बताइन् ।
मेची भन्सार कार्यालयले चोरीपैठारी नियन्त्रण गर्न कर्मचारीलाई विभिन्न समूहमा विभाजन गरी अध्यागमन अगाडि रहेको चेकप्वाइन्टमा खटाउने गरेको भए पनि उनीहरु राजश्व चुहावट नियन्त्रणभन्दा पनि अवैध असुलीमा संलग्न भएको पाइएको छ । भन्सार गेटमा ड्य्टी हुने गरेकाले कसले कति रकम असुल्ने भन्नेमा होडबाजी नै चल्ने गरेको छ । पुरा सामानको भन्सार नकाट्ने र भन्सार नगर्नेहरुलाई गेटमा खटिएका कर्मचारीहरुले सामान भन्सार बुझाउनुपर्ने हो तर भन्सारका कार्यालय सहायकहरुले घण्टौँसम्म बाटोमै अल्मल्याउने र रकम नअसुली नछोड्ने गरेको व्यापारीहरुको गुनासो छ ।
काँकरभिट्टा नाका हुँदै भारतबाट कपडा, इलेक्ट्रोनिक्स सामान, खाद्यान्न, मलखाद, स्टीलका भाँडाकुडा, मोटरपार्टस्, तेल, सुर्तीलगायत सामान चोरी–पैठारी हुने गरेका छ भने भन्सारका कर्मचारीले चोरी निकासीमा संलग्नहरुसँगको सेटिङमा भन्सार कटाउँदै आएका छन् । अन्य समयमा समेत सर्वसाधारण र पोके व्यापारीबाट रकम असुल्न माहिर कर्मचारीले चाडपर्वको बेलामा सर्वसाधारणलाई झनै दुःख दिने गरेको स्थानीयको गुनासो छ ।
भन्सारका कार्यालय सहयोगीहरुले उक्त पोस्टबाट कुनै पनि विषयमा पैसा लिन नमिल्ने मेची भन्सार कार्यालयका प्रमुख भीम अधिकारीले बताएका छन् । सर्बसाधारणबाट रकम असुली गर्ने आफ्ना कर्मचारीलाई कार्वाही गर्ने अधिकारीको भनाइ छ । यस अघि पनि दोषी देखिएका कर्मचारीलाई कारवाही प्रक्रिया चलिराखेको उनले बताए । उनले यो बिषयलाई त्यति नउठाउन आग्रह समेत गरे ।

तर यसअघि पनि रकम असुलीमा संलग्न कर्मचारीलाई छोटी भन्सारमा केही दिनका लागि सरुवा गर्नेभन्दा अन्य कार्वाही नहुने गरेकाले कर्मचारीले मनलागी रकम असुल्दै आएका छन् ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर