झापा।
बाढीका कारण झापामा सबैभन्दा बढी प्रभावित झापा गाउँपालिकामा दोस्रोपटक बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
झापाका सबै रोटरी क्लव तथा नेपाली सेनाको संयुक्त आयोजनामा शनिबार साविक कुमरखोद गाविस, झापा बजारस्थित डिल्लीराज मावि परिसरमा आयोजित शिविरमा उपचार गराउन टाढा–टाढाबाट आएका बिरामी विहानैदेखि लामबद्ध थिए ।
रोटरी क्लव अफ विर्तामोड मिडटाउन, रोटरी क्लव अफ बिर्तामोड, भद्रपुर, काँकरभिट्टा, दमक, रोट्रयाक्ट क्लवहरु र नेपाली सेनाको कालीबहादुर गणले संयुक्त रुपमा व्यवस्थित ढंगले आयोजना गरेको स्वास्थ्य शिविरमा झापाका विशेषज्ञ चिकित्सकहरुले विरामीको जाँच गरेका थिए भने निःशुल्क औषधि बितरण गरिएको थियो । स्वास्थ्य शिविरका लागि एक्सेल डेभलपमेन्ट बैंक, नेपाल इञ्जिनियर्स एशोसिएशन, एनएमएसआरए मेची युनिट समेतको सहयोग रहेको रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।
स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञहरु डा. लक्ष्मीप्रसाद मैनाली, डा. आनन्दराज खनाल, सर्जन डा. रामबाबु खड्का, बाल रोग विशेषज्ञ डा. टङ्कप्रसाद बाराकोटी, छाला रोग विशेषज्ञ हेमन्त राठी र सन्ध्या बगडिया लगायतले बिरामीहरुको स्वास्थ्य जाँच गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष अरविन्द अग्रवालले बताए ।
शिविरबाट ४ सयभन्दा बढी बिरामीले सेवा प्राप्त गरेको रोटरियन नवीन गट्टानीले बताए । अपेक्षा गरेभन्दा निकै बढी बिरामी स्वास्थ्थ परीक्षण गर्न आउनुभयो– उनले भने– चिकित्सकको संख्या उल्लेख्य रहेको र औषधि पनि पर्याप्त रहेकोले समस्या भएन । शिविरमा काँकरभिट्टाको मेची नेत्रालयले आँखा सम्बन्धी सेवा पुर्याएको थियो भने नाक, कान घाँटी रोगको पनि उपचार सेवा उपलब्ध थियो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको समेत सक्रिय सहभागिता रहेको शिविरमा भद्रपुर रोटरीका अध्यक्ष सुरेशकुमार मित्तललगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए । रोटरी केन्द्रबाट प्राप्त डेढ लाख बराबरको औषधि र स्थानीय रुपमा जुटाइएको त्यति नै बराबरको औषधि वितरण गरिएको रोटरियन सन्तोष अग्रवालले जानकारी दिए ।
यसअघि पनि रोटरियनहरुले झापा गाउँपालिकाकै कुवाडीदेवीमा बृहत स्वास्थ्य शिविर आयोजना गरी सयौं बाढीपीडित रोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।