Aamsanchar

आत्महत्याको कारण र समाधान खोज्दै प्रहरी

Author Image
सोमवार, भदौ २६, २०७४

[सुरेन्द्र भण्डारी]
झापा।

गतबर्षको माघ महिनामा कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलाङ्गी र ईश्वर भट्टराईले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरे । घर नजिकै विरीङ खोलाको किनारमा रहेको सिसौको रुखमा उनीहरु झुण्डिएका थिए । अन्तरजातीय प्रेम सम्वन्धले मान्यता नपाउने डरले उनीहरु एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेको विषयले त्यो बेला चर्चा पायो ।
त्यस यता त्यस्ता घटना समाजमा घटेका छैनन् । तर, मेची अञ्चलको आत्महत्या गर्ने तीन वर्षे तथ्याङ्कमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका छन् । आत्महत्या गर्नेको संख्यामा वृद्धि भएपछि त्यसको न्यूनीकरणका लागि सरकारीस्तरबाटै विभिन्न प्रयासहरु थालिएका छन् ।

तर, ती प्रयासहरु प्रभावकारी हुन नसकेपछि संघीय प्रहरी इकाई चन्द्रगढीले बिर्तामोडमा आत्महत्या न्यूनीकरणका लागि सर्वपक्षीय भेला गराई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीको प्रमुख आतिथ्यमा आइतवार कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागीले आत्महत्या न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम जनस्तरसम्म पु¥याउनु पर्ने र आत्महत्याको कारण पत्ता लगाई त्यसलाई निरुत्साहित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए । मानसिक चिन्ता, किशोरावस्था (टिन एज)मा हुने आवेश, लागूऔषध दुव्र्यसन, महिला हिंसा, प्रेममा बिफल नै आत्महत्याको मूल जड भएको भन्दै वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले आत्महत्यालाई निरुत्साहित गर्न एकल प्रयासले मात्र सम्भव नहुने भन्दै सवैलाई यो विषयमा गम्भीर भइदिन आग्रह गरे । प्रहरीको एक्लो प्रयासले मात्र यो रोक्न सम्भव छैन– उनले भने– समाजका सबैले एकपटक यस विषयमा गम्भीर भएर सोच्ने हो भने आत्महत्या घटेर जान्छ ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले आत्महत्या गर्नु जघन्य अपराध हो भन्दै अगाडि भने– आत्महत्या न्यूनीकरणका लागि विद्यालयस्तरबाटै विभिन्न खाले कार्यक्रम सञ्चालन गरिनुपर्छ । विभिन्न चिन्ताका कारण मनोरोग हुने र जीवनमा निरासा छाएपछि मानिसले आत्महत्या गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

मेची अञ्चलमा आत्महत्या गर्नेको संख्या हेर्ने हो भने झुण्डिएर, दोस्रोमा विष सेवन गरेर आत्महत्या गरेका छन् । जथाभावी विषादिको विक्री बितरण हुनु पनि घातक हो भन्दै उनले भने– यस्तो कार्यलाई निरुत्साहित गर्ने हो भने आत्महत्या गर्ने दर घटेर जान्छ ।
प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जनस्तरबाट न्यूनीकरणका लागि प्रयास नथालिएसम्म आत्महत्या न्यूनीकरण हुन नसक्ने बताए । आत्महत्या गर्नु अपराध हो भन्दै उनले भने– जनस्तरसम्म सचेतना नपुगुञ्जेलसम्म आत्महत्या न्यूनीकरण हुन सक्दैन ।

शालिकराम भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, पत्रकार चन्द्र भण्डारी, चिन्तामणि दाहाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, कानून व्यवसायी कमला आचार्य, पूर्वप्रहरी संगठनका अमित अली शेख, बालक्लव जिल्ला सञ्जाल उपाध्यक्ष अस्मिता पाण्डे, रिह्याव सेन्टरका प्रतिनिधि राजु गिरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले गरेका थिए ।
आत्महत्या गर्नेको अवस्था यस्तो छ–
विश्वमा हरेक वर्ष करिव १० लाख मानिसले आत्महत्या गर्छन् । विश्वमा हरेक ३ सेकेण्डमा एक आत्महत्याको प्रयास हुन्छ भने ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् ।
विश्वमा आत्महत्याको दर ११.४ प्रति लाख रहेको छ । आत्महत्या गर्ने मध्ये पुरुष बढी छन् । औसतमा एक लाख पुरुषमा १५ जना र महिलामा एक लाखमा ८ जना हुन्छन् । विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुएना हो ।
यता नेपालमा प्रतिवर्ष हरेक एक लाख जनसंख्यामा झण्डै २५ जनाले आत्महत्या गर्ने गरेका छन् । गरीब देशमा आत्महत्याको दर प्रतिलाखमा ११.२ छ भने धनी देशमा प्रतिलाखमा १२.७ रहेको छ । विश्वमा बढी आत्महत्या गर्ने मुलुकमध्ये नेपाल सातौं स्थानमा छ । नेपालमा सरदर एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गर्ने गरेका छन् ।
पूर्वाञ्चलमा तीन वर्षमा तीन हजार तीन सय ९६ जनाले आत्महत्या गरेका छन् । जसमा आर्थिक वर्ष २०७१÷०७२मा एक हजार ६६, २०७२÷०७३मा एक हजार एक सय २ र २०७३÷०७४मा एक हजार दुई सय २८ जनाले आत्महत्या गरेका छन् । पूर्वाञ्चलको जनसंख्या ५८ लाख ११ हजार ५ सय ५५ रहेको छ ।
मेची अञ्चलमा भने पछिल्लो तीन वर्षमा एक हजार एक सय ९६ जनाले आत्महत्या गरेका छन् । जसमा आर्थिक वर्ष २०७१÷०७२ तीन सय ९०, २०७२÷०७३ मा तीन सय ७१ र २०७३÷०७४मा चार सय ८ जनाले आत्महत्या गरेका छन् । मेची अञ्चलमा १४ लाख २२ हजार १ सय ८२ जना रहेका छन् ।
संघीय प्रहरी इकाई चन्द्रगढीले आत्महत्या न्यूनीकरणका लागि आत्महत्याको प्रयास गरेका वा प्रभावित परिवार र जोखिम समूहहरुलाई लक्षित गरी विभिन्न शिक्षामूलक मनोसामाजिक बिमर्श कार्यक्रम गरिरहेको छ । सामाजिक क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी निकायसँग सहकार्य गर्दै सञ्जाल निर्माण गरेर कार्य अघि बढाएको बताइएको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीका अनुसार आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि गुणस्तरीय जीवनयापन, सामाजिक, सांस्कृतिक लगायत बहुआयामिक कार्यक्रम सञ्चालन गरिएको, आत्महत्या सम्बन्धी आधिकारिक सूचना र तथ्यांक संकलन तथा विश्लेषणको काम भइरहेको र आत्महत्या मनोरोग हो, यसको समाधान सामुहिक प्रयास भन्ने भावनाको विकास गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर