[पार्थ मण्डल]
भद्रपुर।



सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरेको झापाको कचनकवल गाउँपालिकामा जथाभावी इँटा उद्योग सञ्चालन हुन थालेपछि स्थानीयबासी त्यसको बिरोधमा उत्रिएका छन् ।
वातावरणलाई प्रभाव पार्दै खेतीयोग्य जमिनमा नियम विपरीत इँटा उद्योग खोल्ने क्रम बढेपछि साविक पाठामारी गाविस–१ (हाल कचनकवल गाउपालिका–५) स्थित आमजुवानी गाँउबासी त्यसको विरोधमा उत्रिएका हुन् । स्थानीयबासीले आइतबार जिल्ला प्रशासन कार्यालय झापामा फेरि लिखितपत्र बुझाएका छन् । स्थानीयले उचित न्याय दिलाई दिन माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीलाई पत्र बुझाएका हुन् ।
सोही ठाँउका जानतुम खातुनले इँटा उद्योग खोल्न गाउँपालिकासँग अनुमति माग गरेपछि गाउँबासीले जनधनको रक्षा गरी पाउँ भन्दै गत भदौ ११ गते हस्ताक्षरसहितको लिखितपत्र प्रशासन कार्यालय झापामा बुझाएको थियो । प्रशासनमा बुझाएको पत्रको वेवास्ता गरी स्थानीयलाई सहभागी नगराई कचनकवल गाउँपालिकाले उद्योगलाई अनुमति दिन खोजेपछि उनीहरु न्यायका लागि पुनः प्रशासन कार्यालय आएका हुन् ।
यसअघि नै प्रशासनले पीडित स्थानीयको सहभागितामा प्रारम्भिक वातावरण परीक्षण गरेर मात्र अनुमति दिन भनी घरेलु तथा साना उद्योग कार्यालयलाई पत्र लेखेको बताइएको छ ।

घरेलुको पत्र अनुसार कचनकवल गाउँपालिकाले छलफल गराउँदा स्थानीय तीन जनालाई बोलाएको थियो । उनीहरुले नमानेपछि कचनकवल गाउँपालिकाले उद्योग सञ्चालनका निम्ति कागजी प्रक्रिया शुरु गरिसकेपछि गाउँले पीडित बनेको स्थानीय धनलाल राजवंशीले बताए । गाउँपालिका अध्यक्ष अञ्जार आलमले स्थानीयको भावना र जनधनको वेवास्ता गरी एकलौटी रुपमा निर्णय गर्न थालेपछि प्रशासन गुहारेको स्थानीय मुवल हुसेलले बताए ।
उनका अनुसार साविक पाठामारी–१ र ९मा पर्ने ७८२, ६८९, ७१४, ७७७, ७९५, ३५९, ३६० र ३५४ कित्ता नम्बरको जमिनमा खातुनले फिक्स चिम्नीको इँटा उद्योग सञ्चालनका लागि वडा कार्यालयमा सिफारिस माग गरेपछि किसान र स्थानीयले दावी विरोधका लागि निवेदन पेश गर्दा पनि जालसाज गरी वडा कार्यालयले सिफारिस दिएको बताइएको छ ।
वडाबाट सिफारिस भएपछि सञ्चालक खातुनले पत्रिकामा प्रारम्भिक वातावरण परीक्षण सम्बन्धी १५ दिने सूचना निकालेका थिए । सूचना पनि कागजी प्रक्रियामै सीमित भएको स्थानीयले आरोप लगाएका छन् । दुई सय भन्दाबढी घरपरिवारसहित किसानको खेतीयोग्य जमिनमा प्रत्यक्ष असर पर्ने भन्दै न्याय खोज्दै हिँडेको स्थानीय गोपाल बोहोराले बताए ।
यसरी नै गाउँमा इँटा उद्योग थप्दै जाने हो, भने सामाजिक, भौतिक, रासायनिक र जैविक पक्षमा असर पर्ने र धान लगायतको अन्नबाली उत्पादनमा ह्रास आउने स्थानीयको भनाइ छ । यसले त्यहाँबाट बिस्थापित हुनुपर्ने अवस्था सृजना भइसकेको रतन राजवंशीले बताए । सो क्षेत्रमा हाल चारवटा इँटा उद्योग सञ्चालनमा रहेको छ । सो क्षेत्रमा प्रेम, ज्योति, चण्डी र डीबीआई ब्राण्डका इँटा उत्पादन भइरहेको छ ।
यता कचनकवल गाउपालिका अध्यक्ष आलमले त्यहाँ सञ्चालन गर्दै आइरहेका इँटा उद्योगीमा आवद्ध केही व्यक्तिको लहैलहैमा लागेर स्थानीयले बिरोध गरिरहेको बताए । त्यहाँ सञ्चालनमा भएको इँटा उद्योगले अहिलेसम्म स्थानीयबासीलाई असर गरेको छैन, एउटा उद्योग थपिँदैमा असर गर्छ भन्नु ममाथि नियोजित आरोप लगाएको उनको भनाइ छ । कचनकवल गाउँपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै रोजगारी दिने मुख्य लक्ष्यका साथ उद्योगधन्दा थप्ने अभियानमा आफू लागीपरेको उनले बताए ।
त्यसैगरी पृथ्वीनगर–२ हाल भद्रपुर नगरपालिका–३ मा सञ्चालित डीभीआई र नायक ब्राण्डका इँटा उद्योगबाट निस्किएको वायु र तापले मानव बस्तीलाई प्रत्यक्ष असरको गरेको भन्दै स्थानीयवासी संघर्षमा उत्रिएको बताइएको छ ।

