दमक।
झापाको दमकको मुख्य चोक तथा प्रमुख अस्पतालहरुमा आउन–जान प्रयोग हुने सडकहरु भत्केर खाल्डाखुल्डी बनेपछि यसलाई मर्मतसम्भार गर्न नगरबासीले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
दमक चोकबाट लाइफलाइन अस्पताल जाने बेलडागीरोड र क्याम्पसमोडबाट आम्दा अस्पताल जानेबाटो ‘एम्बुस’ जस्तै खतरा भएको बताइएको छ । बर्षात्पछि आएको बाढीका कारण दमकका अधिकांश सडकहरु जीर्ण र क्षतविक्षत भएपछि नगरबासीहरुले तत्काल सडक मर्मतसम्भार गर्न दमक नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जालहरुमा भत्केका सडक र ढलहरुको तस्वीर हालेर निर्वाचित भएका जनप्रतिनिधिहरुको समेत चर्को आलोचना भइरहेको छ । दमक नगरपालिका– १ घर भएका शरण राईले आफू सडकमा परेको खाल्डोमा दुईपटक लडिसकेको बताउँदै १५ हजारभन्दा बढी खर्च उपचारमा नै लागेको बताए ।
बेलडागीरोड मर्मतसम्भार निर्माण उपभोक्ता समितिमा समेत रहेर काम गरेकी गम्भिरा दाहालले तीनपटक आफूहरुले रकम उठाएर मर्मतसम्भार गरेको र अब नगरपालिकासँग आधा–आधा साझेदारी गरेर मर्मतसम्भार गर्न नसक्ने भनेपछि सडकको यो हविगत भएको बताइन् ।
आफूहरुले मर्मतसम्भारका लागि बारम्बार नगरपालिकाको ध्यानाकर्षण गराएको पनि बताउँदै उनले जनप्रतिनिधिहरु आएपछि यस्ता समस्या सहजरुपमा समाधान होला भनेर सोचेको भए पनि त्यस्तो नपाएको बताइन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकका केही सडकहरु भत्केर तत्काल मर्मतसम्भार गर्ने अवस्थामा रहेको बताउँदै यसका लागि प्रयास थालिसकेको बताए । उपभोक्ताहरुसँगको सहकार्यमा मर्मतसम्भार गर्ने नीति लिइएको भए पनि केही समस्याहरु रहेको भन्दै नगरसभापछि सडक मर्मतसम्भारका लागि बजेट बिनियोजन हुने उनले बताए । नगरसभा नभएका कारण बजेट निकासा गर्न समस्या भएकाले मर्मतसम्भार हुन नसकेको जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।
नगरप्रमुख ओलीका अनुसार बर्षात्पछि आएको बाढीका कारण थुप्रै कल्भर्ट र सडकहरुमा क्षति पुगेको र क्षति–विवरण संकलन भइसकेको बताउँदै अब प्राथमिकताका आधारमा मर्मतसम्भार गर्ने नीति नगरपालिकाले लिने उनले बताए । नगरबासीको छिटो काम होस् भन्ने अपेक्षा हुनु स्वभाविक रहेको भन्दै नगरसभापछि बिकास निर्माण लगायतका कामहरुले गति लिने उनले बताए ।