लक्ष्मीपुर।
झापाका सामुदायिक विद्यालयमा कार्यरत् शिक्षक कर्मचारीको तलवभत्ता व्यवस्थापन स्थानीय तहबाट हुने भएपछि अहिलेसम्म प्रथम चौमासिक निकासा नभएकोले समस्या देखिएको छ ।
जिल्लाका १५वटा स्थानीय तहमा कार्यरत् सम्पूर्ण शिक्षक कर्मचारीको तलवभत्ता स्थानीय तहवाटै निकासा गर्नुपर्ने भए पनि दशैं आउन करिव एकहप्ता वाँकी हुँदासम्म विविध प्राविधिक कारण देखाउँदै स्थानीय निकायका जनप्रतिनिधि र कार्यरत कर्मचारीको ढिलासुस्तीका कारण निकासामा समस्या देखिएको हो । जिल्ला शिक्षा कार्यालयका कर्मचारी स्थानीय तहमा व्यवस्थापन गर्न ढिलाई भएको र अहिलेसम्म प्रत्येक स्रोतकेन्द्रका तलवभत्ता सम्बन्धी सम्पूर्ण तयारी स्रोतव्यक्तिहरुले पूरा गरे पनि निकासा हुने छाँट देखिएको छैन ।
कतिपय स्थानीय तहमा अधिकृत नभएको र कतिपयमा समितिको वैठक राख्नुपर्ने बताइएको छ । प्राविधिक कामकाज गर्न खटाइएका स्रोतव्यक्तिले झोले प्रशासनिक काम गर्नुपर्दा अतिरिक्त झञ्झट व्यहोर्नुपरेको गुनासो समेत आइरहेको छ भने निकासा सम्बन्धमा नगरपालिका कर्मचारी र जनप्रतिनिधिका बहानाका कारण तलवभत्ता निकासामा ढिलाइ भएको बताइएको छ ।
विगतमा चौमासिक निकासा एकैपटक हुने गरेकोमा यसपटक प्रत्येक स्थानीय तहमा निकासाको रकम अपुग देखिएको छ । कतिपय स्थानीय तहमा दुई महिनाको तलब र दशैं खर्च मात्र निकासा हुने भएको छ भने कतिपयमा तीन महिनाको तलव र दशैं खर्च मात्र बजेटमा परेको वुझिएको छ । बिर्तामोड नगरपालिकामा शिक्षा विभाग प्रमुख उप–जिल्ला शिक्षा अधिकारी युवराज पाण्डेले भने–‘तलवै खान नपाउने स्थिति नभए पनि ४÷५ गतेभित्रमा दुई महिनाको तलब खुवाउन सकिने वातावरण बनेको छ ।’
यस्तै कनकाई नगरपालिकाका स्रोतव्यक्ति मेदनीप्रसाद पाठकका अनुसार तलव खुवाउने सम्पूर्ण प्रक्रिया पूरा गरिए पनि अधिकृत नभएका कारण तलब निकासा गर्न सकिएको छैन । जिल्लाका अधिकांश स्रोतव्यक्तिहरुले समयमै तलव खुवाउन नसकिएको स्वीकारेका छन् । स्थानीयतहमा जनप्रतिनिधि आएपनि आगामी दिनमा समेत यस्तै अन्यौल बढ्दै गएमा अन्य जटिलता समेत थपिन सक्ने विश्लेषण गरिएको छ ।
यसरी भयो झापामा शिक्षाका कर्मचारी व्यवस्थापन
शिक्षा विभाग मानव संशाधन तथा आन्तरिक व्यवस्थापन शाखाले जिल्ला शिक्षा कार्यालयमा कार्यरत शाखा अधिकृतहरु जानुका गुरागाँईलाई अर्जुनधारा नगरपालिका, हरि मिश्रलाई कनकाई नगरपालिका, दिनेश आचार्यलाई शिवसताक्षी नगरपालिका, भीमसेन विष्टलाई गौरादह नगरपालिका, कमलप्रसाद निरौलालाई बुद्धशान्ति गाउँपालिका, भोलानाथ दाहाललाई कमल गाउँपालिका र प्रल्हाद भट्टलाई गौरीगञ्ज नगरपालिकामा खटाएको छ ।
यस्तै उप–जिल्ला शिक्षा अधिकारी उद्धव विष्टलाई मेचीनगर नगरपालिका र उप–जिल्ला शिक्षा अधिकारी युवराज पाण्डेलाई बिर्तामोड नगरपालिकामा यसअघि खटाइसकेको छ ।