Aamsanchar

दौरा सुरुवालमा आर्कषण बढ्दै

Author Image
मङ्गलवार, भदौ २७, २०७४

(सुरेन्द्र भण्डारी)

बिर्तामोड।

नयाँ पुस्ता अन्य व्यक्तिभन्दा भिन्न देखिन रुचाउँछन् । पश्चिमी संस्कृतिले गाँजेको हाम्रो मुलुकमा केही वर्षयताको टे«न्ड हेर्ने हो भने नयाँ पुस्ताले रहनसहनदेखि पोशाकसम्मलाई अरु भन्दा भिन्न बनाउन खोजेको हामी पाउछौं ।
केही समय पश्चिमी संस्कृतिको प्रभावले दौरा, सुरुवाल, टोपी छोडेर टाइ–सुटले बजार पिट्यो । अहिले फेरि परम्परागत नेपाली पोशाक दौरा सुरुवाल प्रचलनमा आएको छ । २०६८ साल भन्दा पहिलो दौरा सुरुवाल नेपालको राष्ट्रिय पोशाक थियो । तर, २०६८ सालमा तत्कालीन प्रधानमन्त्री वाबुराम भट्टराईले नेपालको पोशाक दौरा सुरुवाल हटाउनुभएको थियो । सो विषयमा अहिलेसम्म संसदमा विचाराधीन छ ।
नेपाली पोशाकमा सजिएर हिँड्दा अझ बढी नेपालीपनको आभास दिलाउछ भन्दै सामाज सुधारक श्यामकृष्ण वजगाई र राजकुमार वजगाई (राजानन्द) ले २०६९ सालबाट नै नेपाल पोशाक विहिन हुनु हुँदैन भन्दै नेपाली पोशाक दिवस पुस १७ गते मनाउन थाल्नुभएको छ । अभिभान स्वरुप सुरु गरेको यो कार्यलाई अहिले हरेक युवाले साथ दिइरहेका छन् । फलस्वरुप नेपालको पोशाक पुनः दौरा सुरवाल र टोपी बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको छ ।
दौरा सुरूवाल नेपाल र भारतका सिक्किम, दार्जीलिङ लगायतका केही क्षेत्रमा लगाइने पोशाक हो । आदिमकलदेखि पहाडी भेगमा बढी प्रयोग हुँदै आएको पोशाक पनि यही हो । त्यस माथि कोट र शिरमा ढाका वा भादगाउँले टोपी पनि लगाउने चलन रहिआएको छ ।विसं १६८० को दशकमा सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेका छन् । अरू अनगिन्ती मल्लकालीन मूर्तिमा पनि यो पोसाक देख्न सकिन्छ ।
१५ देखि २० हजार वर्षअघि लेखिएको मानिएको ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक द्रापी शब्द छ । जसलाई भाष्यकारहरूले क्लोक (लबेदासरहको) हुन्थ्यो भनेका छन् । द्रापीबाट दौरा भएको मानिन्छ ।
लामो बाहुला भएको र अगाडि छातीमा दुई फेर गरी दुवैतिर तुना बाँध्न मिल्ने कुमदेखि घुँडासम्मको हुन्छ दौरा । यो दायाँबायाँ कल्ली गाँसेर घुमाउरो फेर पारिएको, दायाँ र बायाँका तलमाथि चार ठाउँ तुना बाँधिने, दोबरी पारेर वा कठालो र फेरका भित्रपट्टी छेउमा सेप्टी लगाएर सिइएको हुन्छ । यसमा आठ वटा तुना हुन्छन् । ती तुना चार ठाउँमा बााधिन्छन् । दौरासँग सुरूवाल, टोपी र इस्टकोट लगाइन्छ । यति कुरा लगाएका मानिसलाई नेपाली भनेर चिन्न सजिलो हुने विश्वास रहिआएको छ ।


जुम्लामा दौराको नाम कोच्छ्या हो । नेवारीमा ‘भोट लँ’ ले भोटो लुगा भनिन्छ । ठूलाकोमा खार्पा हुने र सानाकोमा नहुने मान्यता छ । मगर र गुरुङमा दौरा भनेको भोटोकै पर्यायवाची हो । थकालीमा दौरा आङीले भनेर चिनिन्छ । साम्पाङको दौराबोधक लछुम र याक्खाको लोकी लाङ्सुप्मा केही मिल्न खोज्छन् ।
विवाह वा पार्टीमा गएको बेलामा मात्र प्रयोगमा आउने यो पोशाक अहिले अधिकांश युवाले रुचाउन थालेका छन् । जसका कारण यसको प्रयोग पनि बढेर गएको छ । कतिपय ठाउँमा त व्यवसायीले दौरा, सुरुवालमात्र सिलाउन छुट्टै व्यवस्थापन मिलाएका छन् ।
विवाह पार्टीमा यदाकदा लगाइने दौरा, सुरुवाल अहिले सवैजसो युवाले लगाउन थालेपछि यसको वजारीकरण पनि राम्रो भएको वताउनुहुन्छ बिर्तामोडका व्यवसायी वीरवहादुर दर्नाल । उहाँ भन्नुहुन्छ– अधिकांश युवाको रोजाइमा दौरा, सुरुवाल परेपछि मैलेपनि पेशा परिर्वतन गर्दै यो व्यवसाय अंगालेको हुँ । उहाँ अहिले गोर्खा टेलरिङ सञ्चालन गरेर वस्नु भएको छ । यस अघि उहाँ इन्टिच्युट सञ्चालन गरेर बस्नु भएको थियो ।

दौरा सुरुवालमा पनि लक्की ड्र

समाजसेवा र शिक्षा क्षेत्रमा क्रियाशीय झापाका युवा व्यवसायी वीरवहादुर दर्नालले ‘नेपाली मौलिकता बचाउँ, नेपाली पोशाक लगाउँ’ भन्ने नाराका साथ दौरा, सुरुवालमा लक्की ड्र गराउने भएका छन् । एक वर्ष पहिलेबाट टेलरिङ व्यवसाय सञ्चालन गरेका उनले विजया दशमी तथा दीपावलीलाई लक्षित गर्दै दौरा, सुरुवालमा लक्की ड्र गराउन लागेका हुन् । गोर्खा टेलरिङको चाडपर्व लक्षित विशेष योजना अन्र्तगत यस्तो गर्न लागिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।


दौरा, सुरुवाल र कोटको कपडासहित सिलाईमा उपभोक्तालाई विशेष छुट उपलब्ध गराउँदै यसका उपभोक्ताहरुबीच लक्की ड्र गरी एकजनालाई खरिदको समान नगद वा कपडा नै उपहार दिने योजना उनले सार्वजनिक गरेका हुन् ।
एक वर्षको अवधिमा हजार सेट बढी दौरा सुरुवाल सिलाएर उपभोक्तालाई हस्तान्तरण गरिसकेका उनले विशेष गरी विवाह र चाडपर्वको सिजनमा भारतको सिक्किम, दार्जीलिङ र सिलगढीबाट पनि दौरा सुरुवालका लागि गोर्खा टेलरिङ खोज्दै आएकाले अबका दिनहरुमा यसैको प्रवद्र्धनमा जुट्न आफूलाई हौसला मिलेको बताए ।
एक सेट दौरा, सुरुवाल र कोटको मूल्य ६ हजारदेखि १४ हजार रुपैयाँसम्म पर्ने कपडाहरु आफूसँग रहेको र स्थानीय उपभोक्ताको क्रयशक्ति अनुमान गरेर आफूले सोभन्दा महंगा कपडा नरोजेको उनले सुनाए । दर्नालले नेपाली उत्पादन अल्लोको कोट र खाँडीका दौरा सुरुवालको विशेष माग रहेको पनि बताए ।
यो व्यवसायमा प्रवेश गर्दा आफूमा शून्य ज्ञान भए पनि आँटैले एक वर्षको यात्रा गरेको अवगत गराउँदै दर्नालले आफ्नो टेलरिङका कालिगढहरुलाई दक्ष कालिगढबाट थप सीप प्रदान गर्ने र अझै स्तरीय पहिरन उत्पादन गर्ने योजना रहेको सुनाए । गोर्खा टेलरिङको उद्देश्य दौरा सुरुवालको प्रवद्र्धन गर्ने तथा युवा लक्षित सर्टिङ–सुटिङबाट छुट्टै पहिचान स्थापित गर्ने रहेको सञ्चालक दर्नालले जानकारी दिए ।

Views: 462

प्रतिक्रिया (०)

सम्बन्धित खबर