बिर्तामोड।
झापाको बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जीवन–बिद्या स्मृति प्रतिष्ठान बुद्धशान्ति–४ ले टेलिभिजन प्रदान गरेको छ ।
प्रतिष्ठानका संरक्षक (हाल नाईजेरियामा कार्यरत) निरज श्रेष्ठले आफ्ना स्वर्गीय बुबा–आमाको सम्झनामा पठाएको रकमबाट टेलिभिजन खरिद गरी केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष निसा श्रेष्ठ (ढुंगाना) सहितको टोलीले केन्द्रका अध्यक्ष बिक्रम मादेन (लिम्बू) लाई ५० इञ्चको कलर टेलिभिजन हस्तान्तण गरेको थियो । केन्द्रमा रहेका वृद्धवृद्धालाई मनोरञ्जन तथा धार्मिक कार्यक्रम हेर्नका लागि सहज होस् भन्ने उद्देश्यले करिब ६३ हजार मूल्य बराबरको टेलिभिजन प्रदान गरिएको प्रतिष्ठानका सचिब सूर्य ढुंगानाले बताए ।
टेलिभिजन प्राप्त भएपछि त्यहाँ रहेका वृद्धवृद्धाहरुले खुसी व्यक्त गरेका थिए । २०६६ सालबाट सञ्चालनमा आएको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा हाल २० जना वृद्धवृद्धा बस्दै आएका छन् ।