मेचीनगर।

चाडपर्वलाई लक्षित गरेर बुधबारदेखि झापाका तीनवटा मुख्य शहरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
झापाका मुख्य शहर काँकरभिट्टा, बिर्तामोड र दमकमा सहायता कक्ष स्थापना गरिएको हो । यात्रु सहायता कक्षको एक कार्यक्रमकाबीच प्रदेश नम्बर १का प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले उद्घाटन गरेका थिए ।
यात्रुको बढी चाप हुने शहर काँकरभिट्टा बस टर्मिनलसहित अन्य शहरमा सर्वसाधारणको भीडभाड हुने ठाउँमा नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले सहायता कक्ष उद्घाटनका क्रममा चाडपर्वमा सर्वसाधारणले सहजरुपमा आवतजावत गर्न सकून् भनेर सहायता कक्ष सञ्चालनमा ल्याएको बताए । उनले चाडपर्वका नाममा यात्रुहरुलाई ठग्ने, मनपरी भाडा असुल्ने जस्ता कार्य नियन्त्रण गर्न सहायता कक्षले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यात्रु सहायता कक्ष उद्घाटन कार्यक्रमका अवसरमा बोल्दै मेची बस व्यवसायी संघका अध्यक्ष श्रीप्रसाद मैनालीले यातायात व्यवसायी, कर्मचारी मजदुर सवैले मर्यादित, अनुशासित भएर यात्रुसँग व्यवहार गर्नु पर्ने बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक ढुण्डिराज गिरी, पूर्वी नेपाल यातायात व्यवसायी संघका अध्यक्ष केशव गिरीलगायतले बोलेका थिए ।

