Aamsanchar

बिर्तामोडको फोहोर दहीझोडामा नियन्त्रण

Author Image
बिहिवार, भदौ २९, २०७४

अर्जुनधारा।

बिर्तामोडबाट अनाधिकृतरुपले फोहोर लिएर गएको ट्याक्टरलाई झापाको अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहको सुरक्षा गस्तीले नियन्त्रणमा लिएको छ ।
वन क्षेत्रमा फोहोर फँयाक्न बिर्तामोडबाट गएको ना.अ.च. ८५० अस्थाई नम्बर रहेको सो ट्याक्टरलाई मंगलबार राति १०बजे फोहोरसहित नियन्त्रणमा लिएको समूहका सचिव खगेन्द्र सुब्बाले जानकारी दिए ।
दहीझोडाको सो क्षेत्रमा बिना अनुमति रातको समयमा बिगत केही समयदेखि फोहोर फँयाक्ने क्रम बढेपछि समूहले निगरानी बढाएको थियो । बिगत डेढ वर्षदेखि वन क्षेत्रमा फयाँकिएको फोहोरका कारण धेरै किसिमको समस्याहरु देखापरेको सचिव सुब्बाले बताए । ‘हामी समूहको निर्णयअनुसार आवश्यक कार्वाही गर्नेछौं’– उनले भने ।
बिर्तामोडस्थित कृषि थोक बजारबाट संकलन गरिएको सो फोहोर दानाबारी लाने क्रममा बाटो मात्र प्रयोग गरेको कृषि थोक बजार व्यवस्थापन समितिमार्फत ठेक्का पाएको ठेकेदार छुतर मल्लिक ‘सन्तोष’ले बताए । पूर्वाञ्चलकर्मीसँगको फोन सम्पर्कमा उनले वन क्षेत्रमा फोहोर फँयाक्ने नियत नभए पनि रातको समयमा सो कार्य भएको प्रति ठेकेदार मल्लिकले गल्ती भएको स्वीकारे । उनले भने– समूहको जे निर्णय हुन्छ, त्यसलाई पालना गर्नेछु ।
यता यस विषयमा इलाका वन कार्यालय दहीझोडाका प्रमुख सहायक वन अधिकृत शिवराम साहसँग बुझ्दा उनले जिल्ला वन कार्यालयले कार्ययोजनासहित वन संरक्षणका लागि दिएको अधिकार समूहले प्रयोग गर्नसक्ने र आफूहरुको प्राविधिक कार्य मात्र भएको बताए ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर