दमक।
विश्व बैंकको सहयोगमा बन्ने सहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाको तयारीका लागि झापाका दुई नगरपालिकामा योजना छनौट कार्य शुरु भएको छ ।
दमक र बिर्तामोडमा परामर्शदाताको समूहले योजना चयनको प्रारम्भिक प्रक्रिया शुरु गरेको हो । देशका १६ सहरमा दोस्रो चरणको सहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाको तयारी थालिएको छ ।
छनौटमा परेका नगरमा आगामी वर्षदेखि सञ्चालन हुने योजना छनौटका लागि प्रारम्भिक प्रक्रिया शुरु भएको हो । पराशर्म समूहका टीम लिडर अजयचन्द्र लालले स्थानीयबासीको सुझावका आधारमा योजना छनौट गरी प्रतिवेदन बुझाइने जानकारी दिए । यसै आर्थिक वर्षभित्रमा छनौट भएका योजनाको डीपीआर तयार पारिने र आगामी वर्षदेखि योजना सञ्चालनमा ल्याइने बताइएको छ ।
जनस्तरबाट आएका सुझावका आधारमा ६ वटा योजनाको विस्तृत सम्भाव्यता अध्ययन गरिने र ३ वटाको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारी कार्यान्वयनको चरणमा पु¥याइने कम्पनीका इञ्जिनियर आभूषण पन्तले जानकारी दिए । मोरङको सुन्दरहरैंचा र उर्लाबारी नगरपालिकामा पनि परामर्श समूहबाट अध्ययन भइरहेको बताइएको छ ।
दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले विश्व बैंकको लगानीमा सञ्चालित योजनाले दमकलाई समृद्ध तथा आधुनिक सहर बनाउन सघाउ पुग्ने अपेक्षा व्यक्त गरे । केही नमूना र आधुनिक योजनामा विश्व बैंकको लगानी रहने र ती योजनाले दमकको आर्थिक, सामाजिक विकासमा पनि सघाउ पुग्ने उनको भनाइ छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नियमित योजना नगरको स्रोतबाट नै सम्पन्न गरिने बताउँदै विश्व बैंकमार्फत बृहत योजना सञ्चालित हुने जानकारी दिए ।
दमक नगरपालिकाका सहरी विकासका इञ्जिनियर भीम पौडेलले यो आयोजना अन्तर्गत ठूला योजना छनौटको प्रक्रिया चलिरहेको जनाए । एकपटकमा तीनवटा योजनामा विश्व बैंकले लगानी गर्ने तयारी गरेको छ । ती योजना २२ देखि ५० करोड रुपैयाँसम्मका हुने प्रारम्भिक जानकारी पाएको उनले बताए । दमकमा नदी कटान, फोहोर व्यवस्थापन, सौन्दर्य अभिवृद्धि, खानेपानी व्यवस्थापन लगायतका योजनामा लगानी आवश्यक रहेको जनप्रतिनिधिको भनाइ छ । आयोजना अन्तर्गत लगानी हुने रकम यकिन नभए पनि अर्बभन्दा माथि रहने जनाइएको छ ।
विश्व बैंकको सहयोगमा बन्ने आयोजनाको लागि छनौट भएका सहर र नगरमा स्थलगत रूपमा योजना चयनको प्रक्रिया शुरु गरिएको हो । यस आयोजनाले सहरको दीगो र दीर्घकालीन विकास गर्ने लक्ष्य लिएको छ । दीगो सहरीकरण र दीर्घकालीन विकासका लागि भौतिक पूर्वाधारका क्षेत्रमा विश्व बैंकले लगानीका लागि चासो देखाएको हो ।
सहरी विकास मन्त्रालयका अनुसार दोस्रो चरणको आयोजनाका लागि योजना छनौट तयारी भइरहेको छ । मन्त्रालयले आयोजना सम्झौतामा हस्ताक्षर हुन अझै एक वर्ष समय लाग्ने भए पनि अहिले विश्व बैंकले आयोजना डिजाइनका लागि ‘सेक्रेटरी फण्ड’ स्वीकृत गरेको उल्लेख गरेको छ । सहरी शासकीय क्षमता सुधार आयोजनाको पहिलो चरणमा ६ वटा नगरमा काम भएको थियो ।
झापाको मेचीनगरसहित इटहरी, धनकुटा, लेखनाथ, बाग्लुङ र तानसेन नगरपालिकामा आयोजना लागू भएकोमा अहिले लेखनाथसहित पोखरा–लेखनाथ महानगर गाँभिएकाले पहिलो चरणमा लागू भएका नगरको संख्या पाँच मानिएको मन्त्रालयले जानकारी दिएको छ ।