Aamsanchar

नयाँ जीवन पाएकी फूलकुमारीलाई थप सहयोग जुट्यो

Author Image
शुक्रवार, भदौ ३०, २०७४

झापा।

आन्द्रामा क्यान्सर भएर थलिएकी फूलकुमारी राजवंशीको स्वास्थ्योपचारका लागि क्यानाडाबाट उमादेव राई र नरमाया राईले सहयोग रकम प्रदान गर्नुभएको छ ।

बाह्रदशी गाउँपालिका–७ डाँगीबारी निवासी फूलकुमारीको आर्थिक अवस्था कमजोर भएको र दैनिकी टार्न नै समस्या भएको समाचार राष्ट्रिय समाचार समितिले यसअघि प्रकाशन गरेपछि उनलाई फलफूल र पौष्टिक आहारका लागि राई दम्पतीले सहयोग स्वरुप रु १० हजार प्रदान गर्नुभएको हो ।

राई दम्पतीले पठाएको सहयोग रकम गौरीशंकर माध्यमिक विद्यालयकी शिक्षक रुपा राईले सामाजिक अभियन्ता टोम राजवंशी र उहाँकी आमालाई प्रदान गर्नुभएको थियो ।

फूलकुमारीको उपचारका लागि राजवंशीलगायतका केही युवाले फेसबुकमार्फत ‘फूलकुमारी बचाऊ अभियान’ सञ्चालन गरेका थिए । अभियानबाट रु दुई लाख ४० हजार जुटेपछि फूलकुमारीको आन्द्रामा भएको क्यान्सरको उपचार गरिएको थियो । उपचारपछि उनले नयाँ जीवन पाएकी छिन् ।

राससले ‘फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन’ शीर्षकमा समाचार प्रकाशन गरेपछि राई दम्पतीले मात्र होइन बाह्रदशी गाउँपालिका–७ का अध्यक्ष मित्रप्रसाद भट्टराईले पनि बिहीबार उनी अध्ययनरत विद्यालय गौरीशंकर माविमा पुगेर रु १२ हजार प्रदान गर्नुभएको थियो ।

उहाँले विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल, अध्यक्ष महेशकुमार झा, फेसबुक अभियान सञ्चालक टोम राजवंशी र फूलकुमारीकी आमालाई सो रकम संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर