Aamsanchar

सावधान ! कतै तपाइँ मर्निङवाक गर्दै हुनुहुन्छ ?

Author Image
शुक्रवार, भदौ ३०, २०७४

(नरेन्द्र ढकाल)

बिर्तामोड।

तपाइँको सवेरै उठेर मर्निङवाकमा निस्कने बानी छ ? सावधान, झापाको बिर्तामोड क्षेत्रमा मर्निङवाक गर्नु स्वास्थ्यका लागि जोखिम मोल्नुभएको चिकित्सकहरुले बताएका छन् ।
सरकारी बेवास्ताका कारण झन्झन् प्रदुषित बन्दै गइरहेको बिर्तामोडको हावा बिहानको समय अत्यन्त हानिकारक हुने गरेको चिकित्सकहरुको भनाइ छ । सडक किनारमा यत्रतत्र फ्याँकिएका फोहोरलाई स्थानीयले आगो लगाएर डढाउने गरेको र उक्त फोहोरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका फिजिसियन डा. किशोर कुमारले बताए ।

उनले भने– बिहानको समय फोहोर डढाउने काम हुन्छ, प्लास्टिकको धँुवाले मानिसको फोक्सोमा असर गर्छ, यो स्वास्थ्यका दृष्टिले सबैभन्दा खतरनाक हो । बिर्तामोड चौबीसै घण्टा सास फेर्न अयोग्य रहेको उनको भनाइ छ । जबसम्म फोहोर व्यवस्थापन हुँदैन, तबसम्म यहाँको वातावरण सुध्रिदैन्– उनले भने ।
विर्तामोड बिहानको समय धुँवा, दिउँसो र बेलुका धुलोका साथै अन्य दुर्गन्धका कारण सास फेर्दा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा सोझै असर पुग्ने उनको भनाइ छ । धुलोका कण श्वासका माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ । यो अवस्था शरीरका लागि अतिसंवेदनशील मानिन्छ । यो अवस्थाबाट जोगिन विशेषज्ञहरूले सल्लाह दिएका छन् । आँखाले देख्न नसकिने यस्ता धुलोका कण शरीरका बाहिरी अंग आँखा र छालाका लागि पनि अति हानिकारक हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उल्लेख गरेको छ ।
डब्लूएचओको मापदण्डले पिएम २.५ को मात्रा २५ माइक्रोग्राम घनमिटरसम्म तोकेको छ । नेपालको राष्ट्रिय मापदण्डले भने ४० माइक्रोग्राम घनमिटरसम्म तय गरेको छ । स्वास्थ्यकर्मीले प्रदुषण र यसको संक्रमणबाट बच्न मास्क, चस्मा र छाला ढाक्ने कपडा अनिवार्य लगाउन सुझाव दिएका छन् ।
सवारीसाधनको बढ्दो चाप, यत्रतत्र फ्याँकिएका फोहोर, बढ्दो जनघनत्वका कारण पनि यहाँ कुनै पनि बेला जुनसुकै महामारी फैलन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । उनीहरुले वातावरण प्रदुषण भएकै कारण मानिसमा विभिन्न खालका संक्रमणहरु फैलने गरेको उल्लेख गरेका छन् । वायु प्रदुषणका कारण मानिसमा टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वास प्रणाली सम्बन्धी रोग थपिँदै गएको छ भने वायु प्रदुषणले मुटु रोग, मष्तिस्कघात, फोक्सोको क्यान्सर, दम र प्रजनन प्रणालीमा समेत गम्भीर असर पारिरहेको डा. किशोरले बताए ।
‘डम्पिङ साइड’ नहुँदा बिर्तामोडको फोहोर जथाभावी फ्याँक्ने चलन बढ्दै गएको छ । फोहोरलाई सड्ने र नसड्ने दुई भागमा विभाजन गरेर घरमा नै व्यवस्थापन गर्न सकिने भए पनि बिर्तामोडका अधिकांशले फोहोरलाई एकै पोको पारेर सडक किनारमा थुपार्ने गरेको छ । फोहोर फाल्ने निश्चित ठाउँ र मापदण्ड बिना जलाउँदा पर्यावरणीय असर पर्न थालेको छ । फोहोरमा आगो लगाइँदा एक त दुर्गन्ध र धुँवामय बनेको छ भने जैविक र अजैविक फोहोर नछुट्याई थुपारिएको फोहोरमा जलाउनाले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको चिकित्सकहरुको भनाइ छ ।
बिर्तामोडलाई सफा बनाउने उद्देश्यले केही संघ–संस्थाहरुले हरेक शनिबार सरसफाई अभियान सञ्चालन गरे पनि हाल उक्त अभियान पनि थलापरेको स्थानीयको भनाइ छ । फोहोरलाई उचित व्यवस्थापन गरेर स्मार्ट सिटी बनाउने बताएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले निर्वाचित भएको यतिका दिनसम्म पनि प्रभावकारी पहल नगरेको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने स्थानको अभावमा केही गर्न नसकेको जनाउँदै आएको छ । नगरपालिकाका मेयर शिवाकोटीले फोहोर व्यवस्थापन गर्नका लागि पहल भइरहेको र यो विषयलाई आफूले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
केही समय अघि मात्र विर्तामोड क्षेत्रमा नै स्वाइनफ्लूका कारण दुई महिलाले ज्यान गुमाउनु परेको थियो । श्वासप्रश्वास तथा हावाको माध्यमबाट सर्ने रोग बिर्तामोडमा छिटो फैलन सक्ने भन्दै चिकित्सकहरुले त्यसबाट जोगिन सुझाव दिएका छन् । बिर्तामोड अस्पताल नै अस्पतालको शहरको रुपमा रहे पनि स्वास्थ्यका दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर