Aamsanchar

भद्रपुरमा दिनदहाडै चोरी

Author Image
शुक्रवार, भदौ ३०, २०७४

भद्रपुर।

चाडपर्व नजिकिएसँगै भद्रपुरमा चोरीका घटना बढ्न थालेको छ । शान्ति सुरक्षालाई चुनौति दिँदै भद्रपुरमा बुधबार दिउँसै एउटा मोटरसाईकल चोरी भएको छ । भद्रपुर–५ निवासी पुण्यप्रसाद रिजालको नाममा रहेको मे ५ प ३२६३ नम्बरको होण्डाको साईन कालो रंगको मोटरसाइकल भद्रपुर बजारबाट चोरी भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल धनी अधिकारी बजार लाग्ने स्थानमा मोटरसाइकल पार्किङ्ग गरेर सागसब्जी खरिद गर्न गएको बेला मोटरसाइकल चोरी भएपछि पीडितले वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी दिएका छन् । वडा प्रहरी कार्यालयले मोटरसाइकल चोरको तीव्र रुपमा खोजी कार्य भइरहेको जनाएको छ ।
बुधवार बजार लाग्ने दिन भएकोले सर्वसाधारणको बाक्लो उपस्थिती र प्रहरीको गस्तीको बाबजुद पनि भद्रपुरमा मोटरसाइकल चोरी भएको घटनाले स्थानीय त्रसित बनेका छन् ।
भद्रपुर बजारबाट दिउँसै मोटरसाइकल चोरी भएको घटनाले प्रहरीको शान्तिसुरक्षामा पनि चुनौति थपिएको छ । चाडपर्व नजिकिएसँगै भद्रपुरमा चोरीका घटना बढ्न थालेपछि नगरको शान्तिसुरक्षा फितलो भएको स्थानीयले महसुस गर्न थालेका छन् ।
भद्रपुरमा यसअघि रातको समयमा चोरीका घटनाहरु हुन थालेको थियो । चोरीका घटनामा संलग्न व्यक्तिलाई अझै पनि वडा प्रहरीले पक्राउ गर्न सकेको छैन । भद्रपुरमा चोरी तथा आपराधिक घटना रोक्न सीसी क्यामेरा लगाउन पटक–पटक पहल भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।
अस्थायी ट्राफिक पोष्ट भद्रपुरले सीसी क्यामेरा जडानका लागि भद्रपुर नगरपालिकामा लिखित पहल गरे पनि कार्यान्वयन भएको छैन ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर