काठमाडौँ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनले विधि, व्यवस्था, नियम र संविधानसमेत बदलिएको भए पनि कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएको गुनासो गर्नुभएको छ ।

नेपाल पारबहन तथा गोदाम व्यवस्था क. लि. को ४७ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन कार्यक्रममा मन्त्री विश्वकर्माले कार्य सम्पादनमा हुने ढिलासुस्तीले सरकारको अनुदानमा सञ्चालन भएका अधिकांश संस्थाले अपेक्षाकृत लक्ष्य पूरा गर्न नसकेको उल्लेख गर्नुभयो ।

मुलुकको भौगोलिक अवस्थाका आधारमा सन्तुलित व्यापार नीति बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि करिब ३०० ऐन, नियम, निर्देशिका, कार्यविधि बन्ने क्रममा छ । केही शक्तिशाली व्यक्तिले आफू अनुकूल ऐन, नियम बनाउन चाहेका छन्, त्यसको विरोध गर्नुपर्छ ।”


वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले वाणिज्य क्षेत्रले अवलम्बन गर्ने राम्रा नीतिका कारण मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, पूर्वसचिव सुरेशमान श्रेष्ठ, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष भीमबहादुर रावल, नेपाल कार्गो व्यवसायी संघका अध्यक्ष प्रकाशसिंह कार्की लगायतले समयसापेक्ष जनशक्ति व्यवस्थापन गरी संस्थाले निजी क्षेत्रभन्दा राम्रो र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पुरुषोत्तम ओझा तथा महाप्रबन्धक कुमार केसीले सरकारी संस्थामध्ये सो संस्था नाफामा सञ्चालित रहेको जानकारी गराउनुभयोे ।

