Aamsanchar

मोरङमा छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

Author Image
शनिवार, भदौ ३१, २०७४

मोरङ ।

मोरङमा आज छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ । विराटनगर–१ महेशपुर बस्ने १६ वर्षीय गौरव खवासको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ः०० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका खवासलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै, मोरङकै विराटनगर–२ सोमबारेमा आज दिउँसो नुहाउने क्रममा लडेर एक बालिकाको मृत्यु भएको छ । रंगेली नगरपालिका–८ घर भई विराटनगर–२ सोमबारेस्थित आशा राउतको घरमा डेरा गरी बस्ने मनिता मण्डलकी सात वर्षीया छोरी हेमा मण्डल दिउँसो १ः०० बजेतिर नुहाउने क्रममा ट्युबवेलमा चिप्लिएर बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङको ग्रामथान गाउँपालिका–२ स्थित भित्रि सडकखण्डमा गत भदौ २८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको आज दिउँसो उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–२ बस्ने ६० वर्षीया गेरी माझी रहेकी छन् । को १७ प १२५९ नंको मोटरसाइकलले पैदल हिँड्दै गर्दा ठक्कर दिई गम्भीर घाइते भएकी उनको नोवेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक विश्वहरि कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर