Aamsanchar

सुकेटार विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने

Author Image
सोमवार, असोज २, २०७४

ताप्लेजुङ,

गत असारदेखि उडान ठप्प भएको सुकेटार विमानस्थलबाट आउँदो बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच आज काठमाडौँमा भएको छलफलपछि बुधबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सहमति भएको हो ।

मौसम खराबीका कारण देखाउँदै गत असारदेखि सुकेटार विमानस्थलबाट उडान बन्द गरिएको थियो । काठमाडौँमा रहनुभएका नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार नेपाल वायु सेवा निगमले साताको दुई दिन बुधबार र शुक्रबारका साथै निजी क्षेत्रका तारा, सीता र समिट एयरले साताको एक दिन हवाई सेवा सञ्चालन गर्ने सहमति भएको छ ।

निजी कम्पनीले यात्रु नै नपाउने गुनासो गरेपछि सरोकार केन्द्रले यात्रु सुनिश्चितताको जिम्मेवारी लिएको श्रेष्ठले जानकारी दिनुभयो । पटकपटक ताप्लेजुङमा हवाई सेवा अवरुद्ध हुँदै आएकाले निरन्तरताका लागि प्राधिकरणले अनुभवी प्राविधिक खटाउने सहमति भएको बताइएको छ ।

छलफलमा सरोकार केन्द्रका पदाधिकारी, प्राधिकरणका तर्फबाट उपनिर्देशक सुभाष झा, उपप्रबन्धक चुडाबहादुर खड्का, निगमका कर्मचारी प्रेमरत्न बज्राचार्यका साथै निजी हवाई सेवा कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका थिए । यसअघि लामो समयसम्म उडान ठप्प हुँदा समस्या भएको विषयमा राससबाट समाचार प्रकाशमा आएपछि सरोकारवालाले हवाई सेवा नियमित गर्न चासो देखाएका हुन् ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर