Aamsanchar

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

Author Image
मङ्गलवार, असोज ३, २०७४

काठमाडौं।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भएको छ ।नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।

संविधान दिवसकै अवसरमा आज सरकारले काठमाडौंको टुंडिखेलमा विशेष समारोहको आयोजना गर्दै छ । त्यसैगरी संविधान जारी भएको अवसरमा देशभर नै विभिन्न कार्यक्रमसमेत हुँदै छन् ।

संविधान जारी भएको दुई वर्षभित्रै नेपालको संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ ।प्रदेश र प्रतिनिधीसभा निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

६ वटा प्रदेशमा जनप्रतिनिधीले काम सम्हालिसकेका छन् भने प्रदेश नम्बर २ मा जनप्रतिनिधी चयनका लागि मतदान सम्पन्न भइसकेको छ । संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । नेपालको लिखित संविधान मध्ये यो सातौं संविधान हो ।

यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भए पनि जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान भने यो नै पहिलो हो । नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।-इमेजखबरबाट साभार

Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर